विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका- ३ का ६४ वर्षीय जितबहादुर गिरीले आफ्नै भाइबाट तीन वटा करङ भाँचिने गरी निर्घात कुटपिट गर्दा पनि प्रहरीले पक्राउ नगरेको गुनासो गरेका छन् ।
करङ भाँच्ने गरी कुटपिट गरेको एक महिना बितिसक्दा पनि इलाका प्रहरी कार्यालय पथरीले कुटपिट गर्ने पथरीशनिश्चरे-३ का ५० वर्षीय हरि बहादुर गिरीलाई पक्राउ नगरेको पीडितले गुनासो गरेका हुन् । पीडित गिरीले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी मरणासन्न हुने गरी कुटपिट गर्ने हरि बहादुर गाउँघरमा खुलेआम हिँड्दा पनि पथरी प्रहरीले पक्राउ नगरेको बताए।
२४ वैशाखमा ५ बजेतिर शनिश्चरे बजारमा हरीबहादुर सहितका ४/५ जनाको समूहले रड र चिरपटले कुटपिट गरेको गिरीको भनाई छ।
आक्रमणबाट करङ र दायाँ कुममा चोटपटक लागेको उनले बताए । एक हप्ता हस्पिटल बसेपछि अहिले स्वास्थ्य ठिक भएको उनले सुनाए । ‘स्थानीय तहको चुनावको प्रचारप्रसार गरेपछि शनिश्चरे बजारमा बसेका थियौँ । पुरानो रिसीबिलाई लिएर आफूमाथि गुण्डागर्दी शैलीमा हरिबहादुर सहितको ५/६ जनाको समूहले आक्रमण गर्न थालेपछि म ढलेछु,’ पीडित गिरीले भने, 'रड, चिर्पट र लात्ता मुक्का प्रहारले आफ्नो तीन वटा हड्डी भाँचिएछ ।' रड प्रहारबाट हातको कुइनाको जोर्नी खुस्किएर अङ्गभङ्ग भएको कोसी अस्पतालमा गरिएको एक्स-रे रिपोर्टले पनि पुष्टि भएको छ ।
घाइते भएपछि हस्पिटलबाट आफन्तले आक्रमण गर्ने विरुद्ध इप्रका पथरीका डिएसपी वेदप्रसाद गौतमलाई जानकारी पनि गराएका थिए । त्यस दिन उनलाई पक्राउ गरेको प्रहरीले कारबाही नगरी छाडिदिएको पीडितको भनाइ छ । एक हप्ता उपचार गरेपछि इप्रका पथरीमा उजुरी दिन जाँदा डिएसपी गौतमले उजुरी लिन नमानेको पीडित गिरीले बताए । ‘डिएसपीले मलाई हप्काएर प्रहरी कार्यालयदेखि पढाइदिए’ पीडितले भने । प्रहरीले जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकिलको कार्यालय विराटनगरमा पुगेको उनले बताए । सरकारी वकिलको कार्यालयको सहाराले मात्र पथरी प्रहरीले जाहेरी दर्ता गरेको उनको भनाइ छ ।आरोपी विरुद्ध १६ जेठमा कुटपिट, अङ्गभङ्ग कसुरमा जाहेरी दर्ता भएको सुनेको भए पनि प्रहरीले आरोपीलाई पक्राउ नगरेको पीडितको भनाइ छ । आरोपलाई डिएसपी गौतमले नै संरक्षण दिएको उनले आरोप लगाएका छन् ।
घटनास्थल नजिकै प्रहरी चौकी शनिश्चरे छ । त्यहाँको चौकीमा प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरीको नेतृत्व रहेको छ । तर, डिएसपी गौतमले पक्राउ गर्न आदेश नदिएको कारणले आरोपीको घर प्रहरी चौकी छेउमै हुँदा पनि पक्राउ गर्न चासो नै नदेखाएको  गिरीले बताए । पथरी प्रहरीका प्रमुखको भूमिकाप्रति शङ्का व्यक्त गर्दै अनुसन्धानको लागि १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरमा पनि २० जेठमा पनि आवश्यक कारबाही गरी पाउभनि हुलाकमार्फत निवेदन पठाएको उनले बताए ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी गौतमले भने उजुरी दर्ता गरेर अहिले घटनाको अनुसन्धान भइरहेको बताए । ‘उजुरी दर्ता भइसकेको छ । घटनामा संलग्न फरार छन्’ उनले भने, ‘हामीले खोजी कार्य जारी राखेका छौँ । सुरुमा घाइतेले ठाडो उजुरी मात्र दिएकोले कारबाही नचलाएको हो ।’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको विषयमा बुझेर मातहतका प्रहरीलाई निर्देशन दिने बताए । ‘प्रहरीले जाहेरी नलिने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘घटना के रहेछ, त्यस विषयमा बुझेर अगाडि बढ्नेछु। ’
हाम्रोमतबाट