चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकामा नगर प्रमुख रमेश कार्की बाउसे र उपप्रमुख नन्दकुमारी राई रोपार बनेर धान दिवस मनाइएको छ ।

बुधवार नगरको कृषि विकास शाखाले आयोजना गरेको १९ औ धान दिवस कार्यक्रममा वडाका जनप्रतिनिधिहरू तथा कर्मचारीहरू समेत बाउसे र रोपार बनेका थिए ।

वराहक्षेत्र नगरपालिका वडा नं ८ स्थित कृष्ण खड्काको करिब ४ कट्टा जमिनमा धान दिवस कार्यक्रम आयोजना गरिएको थियो । रोपाइँ कार्यक्रममा मेयर कार्की, उपमेयर राई ,प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरि सहित वडा नं ७ का अध्यक्ष कपिल आचार्य , बडा नं ८ का अध्यक्ष रोशन खड्का , वडा नं १० का अध्यक्ष तेजबहादुर गुरुङ, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू , कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वराहक्षेत्र नगरपालिका कृषिको उर्वर क्षेत्र रहेकोले उत्पादन बढाउन सम्पूर्ण कृषकहरू लाग्नुपर्ने नगर प्रमुख कार्कीले आग्रह गर्दै नगरपालिकाले कृषि क्षेत्रमा आवश्यक सहयोग गर्ने बताए ।

वराहक्षेत्रमा कृषिमा आधुनिक प्रविधिको आवश्यकता रहेको बताउँदै क्रमशः विकास गरिँदै लगिने नगरप्रमुख कार्कीले बताए।

Barahachetra-ropai-1Ropai