धरान : एसइई दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर र्‍याडिकल लाइट नेपालले आयोजना गरेको एसइई स्पिकर सिजन-२ को पहिलो चरणको अडिसन बुधवार सम्पन्न भएको छ।
धरान-१३ को वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा बालबालिकाको हलमा भएको प्रतियोगितामा सुनसरी जिल्लाभरिका विभिन्न विद्यालयका ३० जना बिद्यार्थीहरु सहभागी भएका थिए । पहिलो अडिसनबाट १५ जना बिद्यार्थीहरु दोस्रो चरणका लागि छनोट भएका छन् । छनोट भएका बिद्यार्थीहरुलाई व्यक्तित्व विकास, नेतृत्व विकास, आत्माबिस्वास कसरी अभिवृद्धि गर्ने, प्रभावकारी ढङ्गले कसरी बोल्ने आदि बारेमा अभिमुखीकरण गरिने र्‍याडिकल नेपालका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नेत्र काफ्लेले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुको आत्म विश्वासमा वृद्धि भई नेतृत्व क्षमताको विकास हुने बताए। एसइई स्पिकरको पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने विद्यार्थीलाई प्लस टु मा जुन विद्यालय पढे पनि वडा कार्यालयले नि:शुल्क पोसाक उपलब्ध गराउने अध्यक्ष काफ्लेले घोषणा गरे।
प्रतियोगीताका निर्णायकहरूमा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक एवम् कोशीपत्र दैनिकका सम्पादक राजेश विद्रोही र युएन कलेजका अध्यापक विजय आछामी रहेका थिए। प्रतियोगितामा पहिलो हुनेले नगद २० हजार रुपैयाँ, प्लस टु अध्ययनका लागि धरानको युएन नबोदय कलेजमा पूर्ण छात्रवृत्ति मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेले १५ हजार रुपैयाँ नगद, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति, मेडल र प्रमाण-पत्र, तेस्रो हुनेले १० हजार रुपैयाँ नगद, प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन्।
त्यस्तै सान्त्वना हुनेले ५ हजार रुपैयाँ नगद, प्लस टु अध्ययनका लागि ३० प्रतिशत छात्रवृत्ति, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने कार्कीले जानकारी दिए। कार्यक्रममा गत सालका विजेता दिपेन भण्डारीको पनि उपस्थिति थियो। विनोद काफ्लेले सञ्चालन गरेको कार्यक्रममा अङ्कित ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गरे।