चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्ग र रातो कार्ड भएका अपाङ्गलाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ। 
वराहक्षेत्र वडा नं ८ को कार्यालयले ८० वर्ष पुगेका ज्येष्ठ नागरिक, अशक्तहरूलाई मङ्गलवारबाट घरमै पुगेर भत्ता वितरण गर्न थालिएको वडाध्यक्ष रोशन खड्काले बताए । वडामा रहेका साबिकका वडामा विभाजन गरेर वडा सदस्यको नेतृत्वमा भत्ता वितरणलाई सहज बनाइएको छ ।
वडा सदस्य, कर्मचारी र बैङ्कका कर्मचारीहरूलाई परिचालन गरेर सेवाग्राहीहरूको चेक सङ्कलन गरेर घरमा पुगेर रकम हस्तान्तरण गर्न थालिएको वडाध्यक्ष खड्काले जानकारी दिए । ८० वर्ष माथिका ज्येष्ठ नागरिकहरू र रातो कार्ड भएका अपाङ्गहरू बैङ्कमा आएर भत्ता लिन नसक्ने भएकाले उनीहरूलाई घरमै पुगेर भत्ता प्रदान गर्न बैङ्कसँग नगरपालिकाले छलफल गरेर सहजीकरण गरेको थियो ।
 ८० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप नगरपालिकाका सम्पूर्ण वडाहरूमा भत्ता घरमै प्रदान गर्न लागिएको नगर प्रमुख रमेश कार्कीले बताए । रातो कार्ड भएका अशक्तलाई समेत घरमा नै भत्ता दिने सहमति बैङ्कसँग भएको उनले जानकारी दिए ।