सुनसरी : समयमा काम नहुँदा तरहरा देखि धरान सम्मको सडकमा यात्रा गर्ने यात्रुले सास्ती खेपिरहेका छन् । दैनिक एक हजार बढी सवारी साधन आवतजावत गर्ने सडक हिलाम्मे र धुलाम्मे हुँदा ९.५ किलोमिटर सडक पार गर्न १ घण्टा लाग्ने गरेको छ । अझ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी लिएर जाने एम्बुलेन्स समेत समस्यामा छन् । पुरानो दुई लेनको सडक भत्काएर चार लेनको फराकिलो सडक विस्तार सुरु भए पनि सोचे अनुसारको काम हुन सकेको छैन । 
९.५ किलोमिटर सडक निर्माणका लागि 'रानी-विराटनगर-धरान ६ लेन सडक' आयोजनाले दुई निर्माण कम्पनीलाई ठेक्का दिएको छ । तरहरा देखि सेउती खोला सम्मको ५ किलोमिटर सडकको निर्माण  जिम्मा प्यासेफिक जेभी कन्स्ट्रक्सनले ४१ करोडमा लिएको छ । त्यस्तै सेउती देखि माथि तीनकुने सम्मको साढे चार किलो मिटर सडकको जिम्मा रौता कन्स्ट्रक्सनले ३७ करोड रकममा ठेक्का पाएको छ । २०७७ असारमा एकै समयमा दुवै कम्पनीले ठेक्का पाए पनि सोचे अनुसारको काम नभएको रानी विराटनगर धरान ६ लेन सडक आयोजना नै बताउँछ । २०८० साल सम्म सम्पन्न हुने लक्ष्य राखे पनि निर्माण कम्पनीले काम नगर्दा समयमा काम पुरा नहुने हो कि भन्ने आशङ्का समेत बढ्दै गएको छ । सेउती देखि तीनकुने सम्मको निर्माण ठेक्का लिएको कम्पनीले ४५ प्रतिशत भुक्तानी समेत लगिसकेको छ । तरहरा देखि सेउती सम्मको निर्माण कम्पनीले ३५ प्रतिशत भुक्तानी लगेको आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए । 
उनले वर्षाको समयमा पानी पर्ने हुनाले केही महिना काम रोकिए पनि अब सुरु हुने जानकारी दिए । रौता कन्स्ट्रक्सन काम सुरु गरिसकेको छ, हामीले प्योसेफिक जेभीलाई सम्पर्क गरिसकेका छौँ । तर आउनु पर्ने समयमा आएको छैन । उनले भने ‘७ दिनको, १५ दिनको समय दिएका छौ. यदि आएन भने कारबाही गर्छौ ।’अब काम सुरु भए करिब पाँच महिना भित्रमा कालोपत्रे सम्पन्न हुने उनको दाबी छ । 
बेवास्ताले तीनकुने देखि जिरोप्वाइन्ट सम्मको सडक अलपत्र
विराटनगरको रानी देखि धरानको जिरो प्वाइन्ट सम्मको ४९ किलोमिटर ६ लेन सडकको निर्माण अवधि २०८० सालमा समाप्त हुदैछ । निर्माण अवधि नजिकिदैं जाँदा धेरै ठाउँमा काम सम्पन्न भइसकेको छ भने केही स्थानमा निमार्णाधिन अवस्थामा छ । तर धरानको तीनकुने देखि जिरो प्वाइन्ट सम्मको पाँच किलोमिटर सडक निर्माण हुने सम्भावना टर्दै गएको छ । 
यस भित्र पर्ने एक हजार एक सय घर टहरा भत्काउनु पर्ने हुन्छ । तर स्थानीय सरकारले कुनै वास्ता नगर्दा आयोजना गुम्ने लगभग निश्चित बन्दै गएको छ । निवर्तमान धरान प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी भएको समयमा आयोजनाले तिन पटक सम्म छलफल भइसकेको थियो । उक्त समयमा बिच बजारबाट घर टहरा भत्काएर सडक लाने कि सर्दु कोरिडोर हुँदै लाने भन्ने विवाद थियो । सर्दु करीडोरबाट धेरै घुमाउरो पर्ने पाँच किलोमिटर सडकलागि १३ किलोमिटर घुमाउँदा धेरै लगानी हुने भन्दै आयोजनाले खर्च गर्न नसक्ने बताएको थियो । लामो समयको छलफलपछि सडक मापदण्ड चौडाइलाई केही घटाएर सडक निर्माणको काम अघि बढाउने सहमति नजिक पुगेको थियो । तर राई र भण्डारीको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ जनप्रतिनिधिले यस विषयमा कुनै ध्यान दिएका छैनन् । करिब ९ महिना मात्रै समय हुँदा धरानका प्रमुख हर्कराज राईले आयोजना समक्ष कुनै छलफल नगरेको आयोजनाको भनाई छ । तत्कालीन प्रमुख तिलक राईसँग सकारात्मक छलफल भएको थियो । उहाँको कार्यकाल पछि नयाँ जनप्रतिनिधि आएपछि कुनै छलफल भएको छैन । आयोजनाका इन्जिनियर दासले भने ‘अब यति छोटो समयमा छलफल होला र आयोजना ठेक्का लागेर काम हो भन्ने सम्भावना देख्दिन । तर स्थानीय सरकारले घर टहरा हटाएर सहयोग गर्याे भने हामी काम त गरिहाल्छौँ ।’ 
बिच सहरबाट निर्माण गर्दा स्थानीयले घरजग्गाको मुआब्जा पाउनु पर्ने माग राख्दै आएका छन् । तर आयोजनाले घरको मुआब्जा दिन तयार रहे पनि जग्गाको दिन नसक्ने प्रस्ट पार्दै आएको छ । यही कारण विवाद बढ्दै जाँदा धरानको पाँच किलोमिटर सडक नबन्ने निश्चित जस्तै बनेको छ ।