धरान : इटहरी-धरान सडक खण्ड अन्तरगत तरहरा देखी तीनकुने सम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गर्न नेपाली काँग्रेस धरानले माग गरेको छ। राजमार्ग स्तरोन्नति गरी छ लेनको बनाउने कार्यमा ढिलासुस्ती भएको भन्दै काँग्रेसले ध्यानाकर्षण गराएको हो । 
निर्माण कार्यमा देखिएको लापरबाही र ढिलासुस्तीले राष्ट्रको शिर निहुरिएको बताउँदै काँग्रेसले दैनिक हजारौँ यात्रुले सास्ती भोग्नुपरेको बताएको छ। बिहीबार जारी विज्ञप्तिमा दैनिक सडक दुर्घटना र त्यसबाट भइरहेको मानवीय क्षति प्रति नेपाली काँग्रेस धरान नगर समितिको गम्भीर ध्यानाकर्षण जनाइएको छ । 
नगर सचिव तथा प्रवक्ता जितेन्द्र राईद्वारा जारी विज्ञप्तिमा जीवनलाई हत्केलामा राखेर हिँड्नु पर्ने बाध्यता भएको र निर्माण कार्य सम्पन्न नहुँदा दैनिक दुर्घटना भइरहेको उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सङ्घीय सरकार सिंहदरबार काठमाडौँ र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ दिइएको विज्ञप्तिमा चाडै निर्माण कार्य सम्पन्न गर्न माग गरिएको छ । 
सांसद राईले उठाए सदनमा मुद्दा
सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित सांसद जयकुमार राईले धरान-तरहरा क्षेत्रमा कोसी राजमार्ग तत्काल निर्माण सुचारु गर्न माग गर्दै सदनमा मुद्दा उठाएका छन् 
बिहीबार संसद्को शून्य समयमा बोल्दे सांसद राईले कोसी राजमार्ग अन्तर्गत धरान-तरहरा सडक खण्ड नबन्दा यात्रुहरू हिलो र धुलोमा हिँड्न बाध्य भएको भन्दै निर्माण कार्य सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
congresss-PR