सुनसरी : गत बुधवार तरहरा र धरानको बिचमा पर्ने विश्वकर्मा मन्दिर नजिक बोलेरो पिकअप गाडीको ठक्करबाट मोटरसाइकलमा सवार इटहरीका एक युवकको मृत्यु भएको भयो । 
धरानबाट इटहरीतर्फ आउँदै गरेका उनलाई विपरीत दिशातर्फ जाँदै गरेको को २ च १६६७ नम्बरको गाडीले ठक्कर दिएर गम्भीर घाइते भएका इटहरी-११ का ३१ वर्षीय सुरज दाहालको मृत्यु भएको थियो । उनी दुर्घटनामा पर्नु पछिको कारण थियो सडकको अवस्था र तीव्र गति । 
यही सडक भएर गुड्ने सवारी साधनका कारण पछिल्लो एक वर्षमा ४१ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । त्यस्तै ६ जना गम्भीर घाइते भएका छन् भने ६६ जना सामान्य घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । 
सवारी दुर्घटना हुनुमा सबै भन्दा धेरै मोटरसाइकल छन् । तीव्र गति, सडकको अवस्था तथा चालकको लापरबाहीले बढी दुर्घटना हुने गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक तथा प्रवक्ता राकेश रेग्मी बताउँछन् । सडक खाली छ भन्दैका तीव्र गति कुदाउने र अहिले सडकको अवस्थाबारे जानकारी नहुँदा दुर्घटना हुने गरेको उनको भनाई छ । 
रानी-विराटनगर देखि सङ्खुवासभाको किमाथाङ्का जोड्ने ६ लेन सडक राष्ट्रिय गौरवको आयोजना अहिले निर्माणाधीन अवस्थामा छ । तरहरा देखि धरानको तीनकुने सम्मको १२ किलोमिटर सडक पार गर्नलाई त्यहाँ भएको धुलो र हिलो कारण जुनसुकै सवारी साधनलाई ४० मिनेट भन्दा माथि लाग्ने गरेको छ । समयमा काम सम्पन्न नहुँदा सडकको यात्रा कष्टकर बनिरहेको छ । ६ लेन सडक आयोजनाले उक्त सडक ३ वर्ष सम्म अर्थात् २०८० साल सम्म सम्पन्न गरिसक्ने बताएको छ । तर कामको अवस्था हेर्दाको अबको ८ महिनामा सम्पन्न गर्न असम्भव जस्तै देखिएको छ । आयोजना प्रमुख बद्री शर्माले उक्त सडकको काम भने अनुसार अघि नबढ्नुमा वर्षायाममा समस्या हुने भएकाले सुस्त भएको बताए । असोजबाट काम धमाधम अघि बढ्ने उनको भनाई छ । 

अहिले सडकमा कालोपत्रे उक्काएर ग्राभेलको काम भइरहेको छ। सडकको दायाँबायाँ वाल लगाउने काम सकिएको छ । तर सडक निर्माणाधीन अवस्थामा भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण दिनानुदिन सवारी दुर्घटना बढ्दै गएको छ । निर्माणस्थलमा न कुनै सूचना बोर्ड राखिएको छ, न सडकमा भएका खाल्डाखुल्डी पुरिएको छ । जसका कारण उक्त सडक मृत्युको मुख्य कारण बनिरहेको छ । 
dharan-road-accident