सुनसरी: बिहिबार इटहरी ९ मा डिभिएम स्कुलले हडपेको जग्गामा जनता पार्ककये उद्घाटन समारोहमा मेयर द्धारिकलाल चौधरीले प्रत्येक वडामा पार्क बनाउने उद्घोष गरेका थिए ।आफ्नो उद्घोषलाई मुर्तरुप दिन उनी भोलीपल्टैदेखि लागिपरेका छन् ।

शुक्रबार विहान इटहरीका मेयर द्धारिकलाल चौधरी इटहरी १६ नम्वर वडा पुगे । एसओएस वालग्राम अगाडी मुख्य बाटोसँगै जोडिएको ६ कट्ठा सार्वजनिक जग्गाको निरीक्षण गर्न मेयर चौधरी त्यहाँ पुगेका हुन् । वडाध्यक्ष जीत नारायण चौधरी, वडासदस्य तेज नारायण चौधरी र इन्जिनियर भवेन्द्र चौधरीसहित मेयर सार्वजनिक जग्गा खोजी अभियानमा निस्किएका हुन् ।त्यहाँ रहेको ६ कट्ठा जग्गामा पुनः अमिन ल्याएर जाँचवुझ गरी ऐलानी जग्गा छुटयाएर घेरावार गरिने मेयर चौधरीले वताए । उनका अनुसार त्यहाँ पनि पार्क निर्माण गरिनेछ ।

हिजो बिहिबार जनता पार्क उद्घाटनको क्रममा मेयर चौधरीले प्रत्येक वडामा पार्क निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए । त्यहाँ पार्कसँगै पुस्तकालय समेत स्थापनाका लागि सम्भाब्यता अध्ययन गरिने वडा सदस्य तेज नारायण चौधरीको भनाई छ । आफु मेयर भएलगत्तै चौधरीले इटहरीमा सार्वजनिक जग्गा खोजी अभियान सुरु गरेका थिए । सार्वजनिक, ऐलानी, पर्तिजग्गा खोजी अभियान तीव्र वनाई बहुसंख्यक इटहरीवासीलाई फाइदा हुने गरी प्रयोग गरिने मेयर चौधरीको भनाई छ ।

जग्गा खोजी टोली सक्रिय

इटहरी उपमहानगरले सार्वजनिक,ऐलानी,पर्ति जग्गा खोजी अभियान तिव्र वनाउन नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीको संयोजकत्वमा समिति वनाएको छ । अहिले यो समितिले वडा वडामा पुगेर खोजी अभियान चलाइरहेको छ । प्राविधिक सहित प्रत्येक वडामा पुगेर अनुगमन जारी रहेको अध्यक्ष चौधरीले वताए । वडामा जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि र नागरिक समाज लगायतसँग सर्वपक्षीय छलफल भइरहेको पनि उनले बताए ।

उद्योग वाणिज्य संघ,नागरिक समाज र वुद्धिजिवि सँग समेत छलफल गरेर समिति अघि वढने उनले बताए । वडा वडामा गरिने छलफल र परामर्शवाट सार्वजनिक,पर्ति,ऐलानी जग्गा कहाँ कति छन जानकारी प्राप्त हुने अध्यक्ष चौधरीले वताए ।

कति छ इटहरीमा सार्वजनिक,पर्ति,ऐलानी जग्गा ?

यसअघि इटहरी उपमहानगरका इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा वनेको ऐलानी पर्ति जग्गा खोजविन तथा संरक्षण समितिले उपमहानगरमा प्रतिवेदन वुझाइसकेको छ । सो समितिले वुझाएको प्रतिवेदनमा खोलानाला, पोखरी, मठमन्दिरले चर्चेको सहित इटहरीमा ९ सय ९५ विगाह ६ कठ्ठा डेडधुर जग्गा ऐलानी, पर्ति, जग्गा रहेको छ । साविकको इटहरीमा २ सय ३० विगाह ७ धुर, खनारमा ३ सय २६ विगाह, १९ कठ्ठा ११ धुर, एकम्वामा १ सय ७३ विगाह १६ कठ्ठा ११ धुर, पकलीमा १ सय २२ विगाह ६ कठ्ठा ५ धुर र हाँसपोसामा १ सय ४१ विगाह १५ कठ्ठा १५ धुर जग्गा रहेको छ ।