इटहरी : इटहरीमा रहेका विभिन्न बोर्डिङ स्कुलका बिध्यार्थीहरुलाई ऐतिहासिक चलचित्र ‘नालापानी’ देखाउन थालिएको छ । अभियानका रूपमा दैनिक भिन्नभिन्न विद्यालयका विद्यार्थीहरूलाई चलचित्र देखाइने चलचित्रका निर्देशक रिमेश अधिकारीले जानकारी दिए । 
विद्यालय सोको संयोजन इटहरी नगर प्याब्सनले गरेको छ। चलचित्र 'नालापानी' २९ गते इटहरीको नोबेल एकेडेमीका विद्यार्थीहरूलाई देखाइएको थियो भने ३० गते लिटल फ्लावर बोर्डिङ स्कुलका विद्यार्थीहरूले हेरेका छन् । अन्य विद्यालयहरू सँग पनि चलचित्र देखाउने विषयमा कुरा भइरहेको निर्देशक अधिकारीले जानकारी दिए ।
नेपाली पुर्खाले नालापानी जोगाउन गरेको योगदान युवापुस्ताले थाहा पाउन आवश्यक रहेको र विद्यार्थीहरूले किताबमा अध्ययन गर्नुपर्ने कुरालाई चलचित्रमा देखाइएको हुनाले पनि इटहरीका विभिन्न विद्यालयहरूलाई चलचित्र देखाउन लागिएको प्याब्सन अध्यक्ष पुण्य सापकोटाले जानकारी दिए । 
सन् १८१४ मा देहरादुन स्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण गरिएको छ ।
चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् भने चलचित्रको निर्देशन रिमेश अधिकारीले नै गरेका हुन् ।
चलचित्र ‘नालापानी’मा सन्तोष पन्त, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन लगायतको अभिनय छ ।