सुनसरी : इटहरी-५ का कर्ण बहादुर घिमिरेको परिवारलाई ट्रिपर भन्ने बित्तिकै झसङ्ग बनाउँछ । ट्रिपरको ठक्करबाट उनको परिवारले आर्थिक क्षति मात्रै ब्यहोरेको छैन, उनको परिवारमा भएको मानवीय क्षतिको बयान गर्ने कुनै शब्दै छैन । २०७३ साल जेठमा इटहरी १७ लबीपुरमा स्कुटरमा सवार ६४ वर्षीय पूर्ण बहादुरलाई पछाडिबाट ट्रिपरले ठक्कर दियो । 

हातमाथि ट्रिपरको टायर पर्दा उनको हात दुई ठाउँ भाँचिएको थियो । इटहरी उपमहानगरपालिकामा करार सेवामा अमिनको काम गर्दै आएका उनी दुर्घटनामा परे सँगै घरको आम्दानीको दरिलो स्रोत गुम्यो । ‘मैले देख्दा यो हात भाँचिएको थियो’ पूर्ण बहादुर भन्छन् “आफ्नो गल्ती नहुँदा पनि मृत्युको मुखमा पुगेर बाँचे ।” ट्रिपर चालकको गम्भीर लापरबाहीले आफू दुर्घटनामा परेको खड्काको गुनासो छ ।   

‘हड्डीको अप्रेसन धरानको घोपामा भयो । सर्जरी चाहिँ काठमाण्डौमा भयो । खुट्टाको मासु काटेर हातमा लगाएको छ तर जति उपचार गरे पनि पुरानो अवस्थामा नफर्किने रहेछ ।,’ उनी भन्छन् ।

खड्काको आलो घाउ निको नहुँदै १० महिना पछि घिमिरे दुर्घटनामा परेको ठाउँ नजिकै उनकै छोरा ३१ वर्षीय राजेन्द्र पनि टिपर दुर्घटनामा परे । उनलाई पनि आफ्नै रुटमा गुडिरहेका बेला ट्रिपरले ठक्कर दिँदा खुट्टा भाँचियो ।

बुवा र उनको उपचारमा करिब २५ लाख खर्च भएको छ । केही रकम ट्रिपर धनीले ब्यहोरपनि आधा भन्दा धेरै रकम आफैले गर्नु पर्दा आर्थिकको समस्या त छदै छ, उनको पढाई समेत दुर्घटनाले नै रोकिदिएको छ । स्नातकोत्तर पहिलो वर्षको परीक्षा दिएर दोस्रो वर्षको तयारीमा लागेका उनी पढाइ अघि बढाउन सकेनन् । अहिले उनी न सहजले हिड्डुल गर्न सक्छन् न पढाई अघि बढाउन सक्छन् । 

tripper-accident-ghaiteघिमिरे परिवार मात्रै हैन इटहरी-४ का अनिमेष कार्कीलाई ट्रिपरले दिएको पिडा उस्तै छ । केही महिना अघि मात्रै ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका उनी निको भएर घर आइसक्दा पनि न्याय पाउन सकेका छैनन् । मोटरसाइकल गुम्यो, हातमा लगाएको एक तोलाको औठि हरायो । उपचारमा लागेको केही रकम बाहेक अन्य कुनै क्षतिपूर्ति पाएका छैनन् । मृत्युको मुखमा पुगेर फर्किएका कार्कीले आफू अन्यायमा पर्दा प्रहरी स्वयमले समेत बेवास्ता गर्ने गरेको आरोप लगाउँछन् । 

मिलापत्रमा ट्रिपर व्यवसायीले प्रहरीसँग मिलेर गरेको बेबहारले आजित रहेको उनी बताउँछन् । मिलापत्रमा गल्ती गर्ने सवारी चालक पनि आउने गरेका कारण आफूलाई गल्ती गरेको महसुस हुन नसक्ने र अझ चालकको आत्मबल बढ्ने कार्कीको भनाई छ । अझ भूतपूर्व प्रहरी नै ट्रिपर व्यवसायी हुने र प्रहरीमा च्यानल मिलाउने गरेका कारण पीडित झन् पीडित हुने हुने गरेको उनको भोगाई छ । 

यी त केही पात्र मात्रै हुन् । प्रदेश एकको पछिल्लो तिन वर्षको ट्रिपर दुर्घटना, मृत्यु र घाइतेको सङ्ख्या हेर्ने हो भने अत्यास लाग्दो तथ्याङ्क देखिन्छ  । ३ वर्ष ४ महिना यता प्रदेश १ का १४ जिल्लामा २४० टिपर दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका छन् भने २७४ जना अङ्गभङ्ग भएका छन् । 

आर्थिक वर्ष २०७६/७७ मा ४३ टिपर दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या बढेर ७८ पुगेको छ । त्यस्तै आर्थिक वर्ष २०७८÷७९ मा अझ बढेर १०४ र चालु आर्थिक वर्षमा २१  दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्कले देखाउँछ । 

सवारी साधन दुर्घटनाको तथ्याङ्क झनै डरलाग्दो

jhapa-car-accient-new-drnप्रदेश १ का १४ जिल्लामा पछिल्लो तीन वर्षको दुर्घटना सङ्ख्या र मृत्यु सङ्ख्या हेर्ने हो भने अझ भयानक छ । आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३२२ दुर्घटना भएका मध्ये ३३२ जनाले ज्यान गुमाएका छन् भने ७९१ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा यो ग्राफ उकालो अवस्थामा छ । ३ हजार १३१ दुर्घटना हुँदा ४४४ जनाको मृत्यु भएको छ । घाइते हुनेको सङ्ख्या समेत बढेर १ हजार ८३ पुगेको छ । यस्तै गत आर्थिक वर्ष २०७८/७९ मा ३ हजार ८२० सवारी दुर्घटना हुँदा ५३१ जनाको मृत्यु भएको छ । घाइते हुने सङ्ख्या अघिल्लो वर्षको भन्दा बढेर १ हजार २०३ पुगेको छ । 

ट्राफिक प्रहरी भन्छ : सवारी चालकको चरम लापरबाही 

टिपर दुर्घटना बढ्नुमा सवारी चालकको लापरबाही भएको ट्राफिक प्रहरी दाबी गर्छ । अरू भन्दा ठुलो सवारी साधन त्यसमाथि साँघुरो सडकमा तीव्र गतिमा कुदाउने  गरेका कारण दुर्घटनाको ग्राफ बढेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक श्याम कुमार सारू मगर बताउँछन् । 

ठुलो सवारी साधन तीव्र गतिमा गुड्दा सडक छेउमा यात्रा गर्ने पैदल यात्री नै आतङ्कित हुने अवस्था छ । उनले भने यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले राडार गन र पछिल्लो समय आधुनिक रूपमा प्रयोग हुन थालेको लिडार स्पिड गन समेतले नियन्त्रण गर्ने तयारी रहेको प्रहरी नायब उपरीक्षक मगरको भनाई छ । 

उनले प्रदेश सरकारसँग समन्वय गरेर तीव्र गति नियन्त्रण गर्न क्यामेरा समेत जडान गर्ने बताए । मगरले सबै गल्ती सवारीसाधनको मात्रै नहुने भन्दै साना सवारीसाधनमा यात्रा गर्ने यात्रु तथा सडक किनारमा पैदल यात्रा गर्ने यात्रुलाई समेत सजग हुन समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।