धरान : नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) उषा नेपाल हुन । ३२ वर्षअघि २०४७ फागुनमा उनी भक्तपुरको सिडिओ बनेकी थिइन ।
नेपाल ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङसमेतको प्रमुख जिल्ला अधिकारी भइन । उनीपछि प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्लाको प्रशासनिक नेतृत्वको अवसर पाउने महिला कमै मात्र थिए।
प्रचण्ड नेतृत्वको सरकार आएपछि पछिल्लो पटक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन हुँदा सरकारले एकै पटक ९ जिल्लामा महिलालाई सिडिओ बनाएर पठाएको छ । जसमध्ये ४ जना प्रदेश १ मा छन् । अहिले सुनसरी, ताप्लेजुङ, ओखलढुङ्गा र धनकुटा महिलाले प्रशासनिक नेतृत्व सम्हालेका छन् । प्रमुख जिल्ला अधिकारीको छनौटमा क श्रेणीमा पर्ने जिल्ला सुनसरीमा पहिलो पटक महिला सिडिओ रूपमा हुमकला पाण्डे आएकी छन् । 
यसअघि भक्तपुर तथा काभ्रेमा प्रमुख जिल्ला अधिकारी रहिसकेकी पाण्डेले अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको छत्रदेव माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेर त्रिचन्द्र कलेजबाट स्नातकोत्तर गरेपछि प्राध्यापन गरेकी थिइन । २०६० सालदेखि ३ वर्षसम्म त्रिचन्द्र सहित अन्य कलेजमा पनि पढाएपछि उनले २०६३ सालमा शाखा अधिकृत पास गरिन । २०६८ सालमा उपसचिवमा नाम निकालेकी उनले दक्षिण कोरियाबाट कृषि विषयमा स्नातकोत्तर पनि गरेकी छन् । 
उपसचिव बनेको ७ वर्षपछि २०७५ सालमा सहसचिवमा नाम निकालेकी उनका ३ दिदीबहिनी सबै जागिरमा छन् । लोकसेवाका सबै परीक्षाहरू खुलाबाट पास गरेकी पाण्डेले अहिले शान्ति सुरक्षा र सीमा अपराधको कारण चुनौती रहेको मानिएको जिल्लाको नेतृत्व गर्दैछीन । उता पहाडी जिल्ला ओखलढुङ्गाको नेतृत्व मधेसकी छोरीले प्रदर्शनीकुमारीले प्रमुख जिल्ला अधिकारीको रूपमा गर्दैछीन । उनी मधेसी समुदायबाट सिडिओ बन्ने पहिलो महिला पनि हुन । नेपाल सरकारको उपसचिव उनी नेपाली सेनाका जागिरे बुबा रामअयोध्या प्रसाद कलवारको प्रेरणाले अध्ययनपछि सरकारी सेवामा प्रवेश गरेकी हुन । 
२०६२ सालमा निजामती सेवामा जागिर सुरु गरेकी प्रदर्शनीकुमारी शाखा अधिकृत बनेकी थिइन । उनी २०६९ सालमा उपसचिव भइन । राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य। तथा आपूर्ति मन्त्रालय, धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी रहिसकेकी उनी पहिलो पटक सिडिओ भएकी हुन । 
जिल्ला प्रशासन कार्यालय सबै ठोक्किने ठाउँ भएकाले गुनासा पनि धेरै आउँछन्,’ उनी भन्छिन, । शान्ति सुरक्षा कायम गर्ने जिम्मा भएकाले पनि अन्यभन्दा सोचनीय हुनुपर्ने अवस्था छ ।’
अहिले धनकुटाको प्रशासनिक नेतृत्व सम्हालेकी लीलाकुमारी केसी पाण्डे पनि उपसचिव हुन । उनी यसअघि रामेछापको प्रमुख जिल्ला अधिकारी रहिसकेकी छन् । ओखलढुङ्गामा जन्मिएकी केसीले आधारभूत तहको पढाइ पनि त्यहीँबाट गरेकी थिइन ।  बुवा खड्गबहादुर खत्री ओखलढुङ्गा गाउँ पञ्चायतका प्रधानपञ्च रहेकै कारण उनले पढ्ने अवसर पाएकी थिइन ।
घरमा ६ जना दिदीबहिनी र २ दाजुभाइमध्ये उनी कान्छी हुन । उनका २ दिदीहरू पनि सरकारी सेवामै छन्। ठाइँली र काइँली दिदी सरकारी जागिरमा छन् । काइँली रेनुका केसी सबइञ्जिनीयर भएर पुरातत्त्व विभागमा कार्यरत छन् भने ठाइँली शकुन्तला केसी जाल्पा माध्यमिक विद्यालय ओखलढुङ्गाकी शिक्षिका हुन । केसीले स्नातक सक्ने बित्तिकै २०५९ सालमा अधिकृतमा नाम निकालेकी थिइन ।
उनले निजामती सेवामा प्रवेश गरेको २० वष पुरा भएको छ । उनले यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, पर्यटन कार्यालय नाम्चे सोलुखुम्बु, सामान्य प्रशासन मन्त्रालय, योजना आयोगमा बसेर काम गरेकी थिइन । २०७४ सालदेखि गृह मन्त्रालयमै रहेकी केसी पहिलो अनुभव नभएकाले प्रमुख जिल्ला अधिकारीको रूपमा काम गर्न कुनै अप्ठ्यारो नहुने बताउँछिन् । लैङ्गिकताभन्दा पनि क्षमताले काम गर्ने भएकाले पुरुष र महिला भन्न नहुने उनको तर्क छ । 
पहाडी जिल्ला ताप्लेजुङले पनि पहिलो पटक महिलालाई प्रमुख जिल्ला अधिकारी पाएको छ । यसअघि भोजपुर र सिन्धुपाल्चोकको सिडिओ रहिसकेकी गोमादेखि चेम्जोङ ताप्लेजुङको प्रशासनिक नेतृत्व सम्हाल्न पुगेकी छन् । जिल्लामा महिला सिडिओ देख्दा सेवाग्राही पनि खुसी हुने गरेको उनी बताउँछिन् । व्यावसायिक दक्षतालाई कायम गर्दै महिलाले इमानदारीपूर्वक काम गर्छन् भन्ने देखाउने महिला सिडिओहरूको भनाइ छ । महिला तथा बालबालिकाका र समस्यामा परेकाहरूको पिडा महिलाले समाधान गरिदिने विश्वास नागरिकमा रहेको पाइन्छ ।
हाम्रोमत दैनिकबाट