चतरा : वराहक्षेत्र नगरपालिकाको भुमि प्रयोग गरी कोकाहा खोलाको पानी धरान लैजाईने अभियानमा वराहक्षेत्र नगरपालिकासँग समन्वय नहुनु गल्ती, कमी कमजोरी भएको धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले स्विकार गरेका छन् ।मेयर साम्पाङ वराहक्षेत्रका मेयर रमेश कार्कीसँग कुराकानी गर्न बुधवार बिहान चक्रघट्टी आएका थिए । नगरपालिकाको कार्यालयमा दुई मेयर बिच भएको छलफलमा धरान उपमहानगरपालिकाका मेयर साम्पाङले समन्वय नहुनु गल्ती भएका बताएका हुन् ।
बराहक्षेत्रको कोकाहा खोलाबाट धरान खानेपानी लैजान मेयर साम्पाङले वराहक्षेत्र वडा नं.१ चावाचामा पाइप बिछ्याउन, पाइप ओसार्न थाले पछि स्थानीयबासीले सञ्चार माध्यम मार्फत अपत्ति जनाएका थिए ।
यसअघि नगर प्रमुख रमेश कार्की, वडाका जनप्रतिनिधिहरूले स्थलगत अवालेकन गरी वराहक्षेत्रको भूमि प्रयोग गर्दा स्थानीयबासी र स्थानीय सरकार सँग सहकार्य गरेर समाधान खोजिनु पर्ने बताएका थिए ।
तर नगरपालिका, वडा कार्यालय तथा स्थानियबासीलाई जानकारी नदिई गएको शनिवार एक्कासि मेयर हर्क साम्पाङको नेतृत्वमा पाइपहरू लिएर हजारौँ मानिस आउँदा मात्र चावचाबासीलाई कोकाहाबाट धरान खानेपानी पानी लैजान लागेको थाहा भएको मिडियालाई बताएका थिए ।
योजना बनाउँदा जुन बाटो हुँदै पानी लैजाने हो त्यहाँ जग्गा जमिन बसोबास भएको स्थानीयवासी सँग सहकार्य, समति नगरिएकोमा चावचाबासीले आपत्ति जनाएका थिए ।
बुधवार दुवै नगरपालिकाका मेयर बिच भएको छलफलमा आवश्यक समन्वय गरेर मात्र काम सुरु गर्ने सहमति भएको छ । वराहक्षेत्रको भुभाग प्रयोग गर्दा हुने क्षतिको विषयमा थप छलफल भए पछि मात्र काम सुरु गर्ने सहमति भएको धरान उपमहानगरपालिका प्रमुख साम्पाङले बताए ।
यसअघि नै आवश्यक समन्वय नहुनु गल्ती भएको मेयर साम्पाङको भनाई थियो । कोकाहा र सप्तकोसीबाट धरान पानी लैजाने योजनामा वराहक्षेत्र नगरपालिका सधेै सकारात्मक रहेको बराहक्षेत्रका मेयर रमेश कार्कीले बताए ।
कार्कीका अनुसार आवश्यक समन्वय, प्रभाव अध्ययन र समस्याको विषयमा छलफल नहुँदा समस्या भएको हो । उनले भने ‘बराह क्षेत्रको भूभागमा पर्ने योजनाको क्षेत्रमा समन्वय गर्ने छलफल छलफल भयो ।’
harka
बराह क्षेत्रको भूभागमा पर्ने दीर्घकालीन असरको विषयमा छलफल गरिने भएको पनि मेयर कार्कीले बताए । त्यसका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय सँग समन्वय गरिने भएको छ । चावचा क्षेत्रमा वराहक्षेत्र नगरपालिका आफैले खानेपानीको व्यवस्थापन गर्ने मेयर कार्कीले बताए ।