विराटनगर : मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समय क्रममा भविष्यमा जनताको दुई तिहाइ मत प्राप्त भएमा संवैधानिक एवं कानुनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने बताउँदै कोशी प्रदेश नामकरणलाई सबैले आत्मसात गरेर जान आग्रह गरेका छन् ।

उच्च अदालत विराटनगर बार एशोसिएशनको १३ औँ वार्षिक साधारण सभामा बार भवन उद्घाटनको अवसरमा मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन । मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेश सभाकै भूमिका बढी हुने, सरकारको कुनै भूमिका नहुने पनि बताए ।

उनले प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नु परेको उल्लेख गर्दै यसपालि प्रदेश सभाको प्रारम्भमै प्रदेश सभाको १३ औ बैठकले नामकरण गरेको स्पष्ट गरे ।

मुख्यमन्त्री कार्कीले भने ‘समय क्रममा भविष्यमा जनताको दुई तिहाइ मत प्राप्त भएमा संवैधानिक एवं कानुनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।’

उनले भने ‘नामकरण  एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो त्यसो नभएर साझा भएको छ, यसलाई सबैले आत्मसाथ गरेर जाऊँ ।’

वर्तमान नेपालको  राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत सोह्र सत्र महिना देखि प्रधानन्यायधिस नियुक्ति हुन नसक्नु दु:खद कुरा भएको बताए । यस्तै अवस्था राजनीतिक क्षेत्रमा पनि रहेको तर यस विषयमा नेताहरूको ध्यान जान नसकेको उनको भनाइ थियो ।

प्रदेश संरचना अनावश्यक, अत्यधिक खर्चालु लगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने ‘विगत १५ वर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेका छन् ।’

उनले पाँच वर्षको अवधिमा प्रदेश सरकारले ८ सय किलोमिटर कालोपत्रे सडक, १ सय वटा पक्की पुल, २ सय वटा झोलुङ्गे पुल र २ सय वटा भौतिक संरचना निर्माण गरेको जानकारी पनि दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तीको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता प्रकट गर्दै राम्रो कार्यको प्रशंसा गर्न पनि आग्रह गरे ।