- भरतराज शर्मा (गोपाल)
वैदेशिक रोजगारीबाट मिर्गौला रोगी भएर फर्किएका प्रविण ८ वर्ष देखी पेटभित्र डाइलसिस मेसिन लिएर बाँचेका छन् । धरान-९ विनायक पथका ५७ वर्षीय प्रविण राईको कथा विदेशीने अन्य नेपाली युवाहरुको भन्दा भिन्न छैन । श्रीमती र एक छोरा सहित दिर्घरोगीका रूपमा बाँचेका उनी भन्छन् ‘नत आफूले भनेको जस्तो खान पाइएको छ नत लाउन नै, सबै रोग लागोस् दिर्घरोग नलागोस्।’
विदेशीनु अघि स्थानिय पत्रकारीतामा उनी क्रियाशील थिए । त्यसैले रोग लागे पनि सामाजिक संस्था, समुदाय र शुभेच्छुकको सहयोगमा पेट भित्रै रहने बाहिर निकालिएको पाइपबाट बेला-बेला डाइलसिस गनुपर्ने उपकरण लगाइयो । त्यसैको सहारामा उनी बाँचेका छन् ।
संसारी नै मधुमेह र उच्च रक्तचाप सहितका दिर्घरोगहरु बढेसँगै मिर्गौला रोगको जोखिम पनि बढेर गएको छ । विश्वमा अहिले १३५ भन्दा बढी देशका मानिसहरुमा मिर्गौलाको दिर्घरोग भेटिएको छ । नेपालमा लगभग ३० लाख भन्दा बढी मानिसहरुमा कुनै न कुनै प्रकारको मिर्गौला र अन्य दिर्घरोग भएको तथ्याङ्कले देखाउँछ ।
नेपालमा अहिले मिर्गौला फेल भएका बिरामीहरू ३० हजार भन्दा बढीको हाराहारीमा छन् । वर्षेनी तीन हजारका दरले मिर्गौला रोगका बिरामीहरू थपिदे गएको छ । सबै उमेर समूहकालाई लाग्ने रोग भएपनि बढ्दो उमेर सँगै बदलिएको जीवन शैली मधुमेह र उच्च रक्तचाप मिर्गौला रोगको प्रमुख कारण हो ।
केहिवर्ष यता युवाहरू मिर्गौलाको गम्भीर रोग लिएर खाडी मुलुकको वैदेशिक रोजगारबाट घर फर्किरहेका छन् । प्रबिण राई वैदेशिक रोजगारीकै क्रममा केही वर्ष अघि काम गर्ने क्रममा नै उनलाई एक्कासि रिङ्गटा लाग्ने, टाउको भारी हुने, वान्ता होला जस्तोे हुने जस्ता समस्या देखिएको थियो ।
उनी उपचारका लागि कम्पनीकै सहयोगमा कतारमै अस्पताल पुगे । सामान्य उपचारपछि उनी केही समयका लागी नेपाल फर्के । नेपालमा राम्रै तरिकाले खानपान, हिडडुल भइरहेको थियो । एक दिन एक्कासि पुरानै समस्या दोहोरियो ।
उनी स्वास्थ्य जाच गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान पुगे । जाँच गर्दा उनको दुबै मिर्गौला खराब भएको रिपोर्ट आयो । उक्त रिपोर्टले उनलाई छाँनाबाट खसेजस्तो बनायो । अहिले उनी अस्पतालको उपचारपछि घरमा नै आफै डाइलोसिस गर्दै बसेका छन् ।
बिपी प्रतिष्ठान परिसरमा भेटिएका मोरङका ६० वर्षीय इन्द्रप्रसाद भट्टराईको अत्याधिक धूम्रपान गर्ने बानी थियो । उमेर सँगै बढ्ने स्वास्थ्य समस्या संगै उक्त रक्तचाप र मधुमेह उनमा देखियो । समस्या बढ्दै गएपछि उनी काठमाडौँ गंगालाल ह्दय रोग केन्द्र पुगे । उच्च रक्तचाप र मधुमेह नियन्त्रण नहुँदा मुटुमा समेत समस्या आउन सक्ने डाक्टरले चेतावनी सहितको सुझाव दिए ।
पछिल्लो समय बढेको विलासी जीवनशैली मुटु रोगीको सङ्ख्या बढ्नुको मुख्य कारण भएको मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले बताउँदै आएका छन् । धूम्रपान मद्यपानको सेवनकै कारण युवाहरूमा ह्दयघातको समस्या बढ्दै गएको उनको भनाई छ ।
फोन संवादमा डा. कोइरालाले भने ‘कोलेस्ट्रोल र उच्च रक्तचापको उपचार समयमा गरिएन भने पनि मुटुमा समस्या आउन सक्छ, मुटुको समस्या केही वंशाणुगत पनि हुन सक्छ र महिला भन्दा पुरुषहरूमा यो समस्या बढी हुने गर्दछ ।’ स्वास्थ्यकर खाना र दैनिक व्यायाम गरियो भने मुटुको रोगबाट बच्न सकिन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अनुसन्धान अनुसार सन २०१३ मा ३ दशमलव ६ प्रतिशत रहेको उच्च रक्तचापका बिरामीको सङ्ख्या २०१९ मा बढेर ५ दशमलव ७ प्रतिशतमा पुगेको छ । नेपालमा प्रत्येक २० जनामध्ये १ जनामा उच्च रक्तचाप अर्थात हाइब्लड प्रेसरको रहेको अध्ययनले देखाएको छ ।
धरान उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा अहिले सुनसरी जिल्लाकै सबैभन्दा बढी सङ्ख्यामा दिर्घरोगी छन् । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आर्थिक वर्ष २०७८/०७९ को साउन महिनामा ८० जना, भदौमा ८५, असोजमा ४५, कार्तिकमा १८, मङ्सिरमा १३, पुषमा १४, माघमा २८, सहित कुल २९९ जनाको सङ्ख्या पाइएको छ । उनीहरूलाई सरकारले दिर्घरोगीलाई दिँदै आएको नगद ५ हजार सहितको सेवा प्रदान गरिएको छ ।
धरानका दिर्घरोगीहरुमा सङ्ख्यात्मक रूपमा पुरुषको सङ्ख्या बढी छ । दीर्घ रोगीहरूको कुल सङ्ख्या २६३ मध्ये १७३ जना पुरुष छन् । पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ । उपमहानगरपालिकाको दिर्घरोगी सेवा लिने महिला ९० जना मात्र छन् । उमेर समूहको हिसाबमा पुरुष दिर्घरोगी १७ महिना देखि ८२ वर्ष सम्मका छन् ।
धरानमा सबै भन्दा बढी दिर्घरोग क्यान्सरका बिरामी रहेका उपमहानगरपालिकाको सेवा लिनेहरूको तथ्यांकमा देखिन्छ । क्यान्सर रोगी पुरुषको तुलनामा महिला धेरै छन् । क्यान्सर रोगी ५० जना पुरुष छन् भने महिलाको सङ्ख्या १२३ जना छ ।
मिर्गौला रोगीमा पुरुष सङ्ख्या बढी छ । ४८ पुरुष मिर्गौला रोगीले महाशाखाबाट उपचार सहयोग लिएका छन् । यसको तुलना महिलाको सङ्ख्या ३६ जना रहेको छ । धरानमा स्पाइनल कड्सका दिर्घरोगीहरु पनि छन् । मेरुदण्डका कुल ६ जना रोगी उपमहानगरपालिकाको सम्पर्कमा छन् । त्यस मध्ये पुरुष ५ जना र महिला १ जना छन् ।
धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडीमा साउनदेखि चैत्र महिना सम्ममा चेकजाच भएको सम्पूर्ण रोगी बिरामीको सङ्ख्या २ लाख २३ हजार ४१ जना रहेको छ । आकस्मिक कक्षमा उपचार भएको बिरामीको सङ्ख्या ५५ हजार ३ सय ९३ जना छन् ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्राध्यापक डा. सञ्जीव शर्मा भन्छन् ‘हाम्रो जस्तो देशमा अस्पताल आउन ८० प्रतिशत बिरामी दिर्घरोगी हुन्छन् ।’ यी रोगहरूले मानिसको मृत्यु हुनेको सङ्ख्या अत्याधिक रहेको छ । डा. शर्मा मिर्गौला रोगका विशेषज्ञ हुन् । प्रतिष्ठानको तथ्याङ्क अनुसार अस्पतालमा आउने बिरामीको मृत्युदर १ प्रतिशत भन्दा तल रहेको छ ।
डा.शर्मा भन्छन् ‘दिर्घरोगको कुरा गर्ने हो भने धरानको जनसङ्ख्या मध्ये एक तिहाइमा दिर्घरोग पाइन्छ ।’ उनका अनुसार दिर्घरोगहरुको सुरुवाती कुनैपनि लक्षण देखा नपरेपनि मानिसले गम्भीर भएपछि मात्र जचाउने गरेका छन् । मुटु, क्यान्सर, सुगर, प्रेसर, कोलेस्ट्रोल जस्ता रोगहरु भुषको आगो जस्तै हो । दिर्घरोगीहरुमा सुरुवाती कुनैपनि लक्षण नदिएपनि अन्तीम अवस्थामा जचाउन आउँदा मात्र देखा पर्नै गरेको छ । रोगहरु रोक्न समुदायमा खोज अनुसन्धान गर्न के एच डिसी मार्फत शिविर मार्फत जाने गरेको गरिएको उनले बताए ।
धरानमा पटक पटक गरी हाल सम्ममा १ लाख ६० हजार दिर्घरोगी बिरामीहरूको चेकजाच गरी सकेको उनले बताए । उनका अनुसार धरानमा दिर्घरोगी भयावह रुपमा देखिएको छ । सुगर रोगीको सङ्ख्या २० वर्ष माथिका उमेर समूहका १० दशमलव ८ प्रतिशत रहेको छ । यो समूहका ३८ प्रतिशतमा प्रेसरको दिर्घरोग पाइएको छ । अर्थात धरानमा १०० जनामा ३८ दिर्घरोगी छन् ।
धरानमा मिर्गौलाको समस्या यहाँको जनसङ्ख्याका १० प्रतिशतमा रहेको छ । विदेशको स्वास्थ्य प्रणाली फरक छ हाम्रो फरक छ । उमेर नतोकिएको भएपनि उमेर जति आएपनि चेकजाँच गर्ने गरिएकोमा धरानमा २० वर्ष माथिको बिरामीहरू लाई हेर्ने हो भने धरानको जनसङ्ख्याका एक तिहाइ दिर्घरोगी रहेको डा. शर्माको कथन छ ।
धरानमा बिरामी भएपनि सेवा लिन नजानेको सङ्ख्या धेरै छ । बिरामी हुँदा सम्म पनि दिर्घरोगीको लक्षण देखा पर्दैन । उदाहरण कसैलाई प्रेसर छ भने उनी प्रेसरको औषधी खानुपर्ने बानी पर्छ भनेर औषधी खाँदैनन् । यस्तै सुगरको औषधी खाए मिर्गौला बिग्रिन्छ भन्दै पन्छिन खोज्छन् । यी सबै कुरा उल्टो भएको डा. शर्मा बताउँछन् । औषधी नखाँदा सुगर प्रेसरले मिर्गौला बिग्री पक्षपात हुने अन्धोपन रोगहरु लाग्ने गरेको छ ।
धरानमा उपमहानगरपालिकाको स्वास्थ्य सेवा सञ्जाल समुदाय तह सम्म नभएको भने होइन् । रोगले निकै च्यापेपछि एकै चोटी वीपी प्रतिष्ठान जाने प्रवृत्ति समुदाय तहमा विद्यमान छ । स्वास्थ्य केन्द्रहरूमा आउने बिरामीहरूको चेकजाँच र तथ्याङ्कको आधारमा धरानका स्वास्थ्य स्थितिको अध्ययन गर्न सकिन्थ्यो । आर्थिक बाहेक अन्य प्रतिवेदन उपमहानगरपालिकाले सार्वजनिक गरेको भने पाइन्न ।
धरानमा उपमहानगरपालिकाले १६ बटा स्वास्थ्य संस्थाबाट नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । धरान-१ छाताचोक, धरान-३ गौधारा स्वास्थ्य संस्था, वडा ४ हर्दिया स्वास्थ्य शाखा, वडा ५ मा ठीङगाबारी, वडा ६ मा पानबारी, वडा ८ वडा कार्यालयसँगै रहेको स्वास्थ्य शाखा सञ्चालनमा छ ।
धरान-११ मा सर्दिखोला छेउ स्वास्थ्य शाखा, वडा १२ वडा कार्यलय, वडा १३ वडा कार्यलय, वडा १४ पिण्डेश्वर स्वास्थ्य शाखा, वडा १५ मा श्यामचोक सहित ४ स्थानमा स्वास्थ्य शाखा सञ्चालनमा छन् । वडा १६ र १७ मा वडा कार्यलय संगै, वडा २० बिष्णुपादुका स्वास्थ्य चौकीबाट समेत बिरामीले स्वास्थ्य सेवा लिईरहेका छन् । महाशाखा मार्फत वार्षिक ५ करोड रुपया बजेट खर्च हुन्छ ।
दिर्घरोग न्युनिकरणका लागि नेपालमा पनि अन्य देशमा जस्तै नोर्डिक न्यट्रीसन रिकमेन्डेशन, आईसीएमआर इन्डिया, बीएनआर बङ्गलादेशमा जस्तै नीति हुनुपर्दछ । यसबाट जनमानसमा के कस्तो खानेकुरा, कति मात्रामा, कसरी खाने भन्ने सम्बन्धमा जनचेतना बढाउन सकिन्छ ।
पोषण विज्ञान अध्ययनलाई मेडिकल साइन्स अन्तर्गत राखी मेडिकल कलेजहरूमा पठन पाठन गराउन जरुरी छ । नेपालमा पोषण विज्ञान तथा खाद्य प्रविधि सम्बन्धी अध्ययन हुने संस्था धरान स्थित केन्द्रीय प्रविधि क्याम्पसको सहकार्यमा धरान उपमहानगरपालिकाले स्थानिय तहमा ऐन बनाएर लागु गर्न सक्दछ ।
(धरान उपमहानगरपालिका-नेपाल पत्रकार महासङ्घ सुनसरीको लेख वृत्ति कार्यक्रम अन्तर्गत तयार गरिएको आलेख)