धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उनले नगर प्रमुखको पद बहाल गर्दा धरान खानेपानी बोर्डको बैङ्क खातामा ४ करोड ४४ लाख ३४ हजार ३६५ रुपैयाँ मात्र मौज्दात रहेको जानकारी सार्वजनिक गरेका छन् । साथै उनले तत्काल धरान खानेपानी बोर्डको बैठक नबोलाउने सङ्केत पनि दिएका छन् ।
पछिल्लो पटक खानेपानी बोर्डको पुरानो मौज्दात र खर्चको बारेमा चर्चा व्यापक भएपछि शुक्रवार आफ्नै कार्यकक्षमा उनले सञ्चारकर्मीहरूलाई उक्त जानकारी सार्वजनिक गरेका हुन् । बोर्डको पदेन सदस्य सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहितको टोलीले सूचनाको हक प्रयोग गरी बोर्डको आर्थिक कारोबार र एक वर्ष सम्म बैठकमा नबोलाइएको विषयमा जानकारी माग गर्दै वैशाख ३१ गते निवेदन दिएको थियो ।
यसैगरी बोर्डका सदस्यहरू मनोज भट्टराई, श्याम पोखरेल, देवराज श्रेष्ठ र विजय श्रेष्ठले छुट्टै सोही दिन संयुक्त निवेदन दिँदै बोर्डको बैठक एक वर्ष सम्म नबोलाइएको उल्लेख गर्दै आर्थिक कारोबार र नीति निर्णय र दैनिक गतिविधिको जानकारी माग गरेका थिए ।
मेयर साम्पाङले सार्वजनिक गरेका पुरानो मौज्दात रकम मध्ये १ करोड ८७ लाख १ हजार ६१९ रुपैयाँ तत्कालीन वक्यौत तिर्नुपर्ने रकम भुक्तान गरेपछि गत: आर्थिक वर्षको २०७९ असार मसान्तसम्म २ करोड ५७ लाख ३२ हजार ७३७ रुपैयाँ मात्र मौज्दात रहेको कुरा पनि सार्वजनिक गरेका छन् ।
तत्कालीन बोर्डका अध्यक्ष, निवर्तमान मेयर तिलक राईले पूर्व मेयरहरूको कार्यक्रममा आफ्नो पदावधि समाप्त हुँदा बोर्डको कोषमा लगभग ४ करोड रूपमा बाँकी रहेको बताएका थिए । साथै तत्कालीन  एडिबीको योजना अनुसार विजयपुर पञ्चकन्यामा ट्याङ्की निर्माण हुन नसकेपछि उक्त रकमबाट पाइपहरू खरिद गरेर राखिएको समेत लगभग ७ करोड पुग्न सक्ने बताएका थिए ।
मेयर साम्पाङले निवर्तमान मेयर तिलक राईले भनेको ७ लगभग करोड रकम पुग्ने कुरा झुटो भएको बताउँदै उक्त भनाइको खण्डन गरे । उनले २०७९ जेठ महिनामा १ करोड ३ लाख ७८ हजार ५३४ रुपैयाँ, असारमा १ करोड १० लाख ९० हजार ११९ रुपैयाँ आम्दानी भएको हिसाब सार्वजनिक गरे ।
२०७९ जेठ महिनामा व्ययतर्फ कुल १ करोड १५ लाख ७४ हजार ७२१ रुपैयाँ, असारमा कुल २ करोड ६९ लाख ९५ हजार २४६ रुपैयाँ खर्च भएको मेयर साम्पाङले सार्वजनिक गरेको हिसाबमा उल्लेख छ । चालु आर्थिक वर्ष २०७९/०८० मा साउन देखि वैशाखसम्म सम्म कुल आम्दानी १४ करोड ४६ लाख ८२ हजार ७९० रुपैयाँ रहेको हिसाब सार्वजनिक गरिएको छ ।
मेयर साम्पाङले यसअघि खानेपानीको बोर्ड अध्यक्ष नगर प्रमुख हुने निर्णय भएको आधारमा आफू मेयरमा निर्वाचित भएपछि बोर्डको अध्यक्ष भएको बताए । बोर्ड पहिलाकै संरचना अनुसार चलेको उनको भनाई छ ।
उनले निवर्तमान मेयर तिलक राईको कार्यकालमा पनि डेढ वर्ष बैठक नबसेको बताउँदै तत्काल बैठक बैठक नबोलाउने सङ्केत गरे । मेयर साम्पाङले हाल बोर्डका सदस्यहरूसँग काम गर्न असहज भएको बताए ।
khapani-board-hisab