रश्मि प्रधान

धरान : धरानका मेयर हर्क साम्पाङले खानेपानी बोर्डलाई पारदर्शी बनाउन आर्थिक बर्ष ०७८/७९ को हिसाब किताब सार्वजनिक  गरेका छ्न ।

सुशासन र पारदर्शिता गर्छु भन्दै मेयर हर्क साम्पाङ्ले गत स्थानीय निर्वाचनमा  प्रमुखताका साथ कुरा उठाएका थिए । मेयर साम्पङ्ले आफू निर्वचित भए देखि नै आफ्नो प्रतिवद्धतालाई क्रमशः पुरा गर्दै लाने क्रममा खानेपानी बोर्डको हिसाव किताव सार्वजानिक गरेको बताए ।

शुक्रवार पत्रकार  सम्मेलन गर्दै मेयर साम्पाङ्ले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पारदर्शि बनाउन  गत आर्थिक बर्षको  खानेपानी बोर्डको आय र व्यय अर्थात हिसाब सार्वजनिक गरेका हुन् । साम्पाङले बोर्डको हिसाब प्रत्येक ४-४ महिनामा सार्वजनिक गरेर पारदर्शी बनाउने  योजना  भएको  जानकारी दिए । 

मेयर साम्पाङले आर्थिक बर्षमा बोर्डमा अघिल्लो बर्षको नगद मौज्दात सहित १५ करोड ४ लाख ५६ हजार ६ सय २२ रुपैया आय भएको छ भने खर्चतर्फ १२ करोड ४७ लाख २३ हजार ८८४ रुपैया भएको छ । खर्च गरेर हाल राष्ट्रिय वाणिज्य बैंकमा ३ लाख ४३ हजार ४५१ रुपैया र माछापुच्छे बैंकमा २ करोड २२ लाख ९७ हजार ८८६ रुपैया नगद मौज्दात रहेको पनि मेयर साम्पाङले जानकारी दिएका छन् । 

मेयर साम्पाङका अनुसार एडिबिबाट लिएको ऋणको अझै ५४ करोड रुपैया तिर्न बाँकी छ । एक बर्षमा ६ करोडको दरले यो ऋण तिर्नुपर्ने हुन्छ । चाडै यो ऋण चुक्ता गरेर खानेपानीको महशुल घटाउने आफ्नो योजना रहेको पनि मेयर साम्पाङले बताए ।

उनले खर्च कटौती गर्न आफ्नो ध्यान केन्द्रीत रहेको बताउदै त्यसको लागि धेरै भएको कर्मचारी कटौतीदेखि विजुलीमा भइरहेको खर्च घटाउन लगायतमा ध्यान दिइरहेको बताए । यस्तै, एडिबिको सहयोगमा शुरु भएको खानेपानी योजना (आइयुडिपी प्रोजेक्ट) असफल भएको दाबी गर्दै  मेयर साम्पाङले भने,'असफल भएकैले त म खोला खोल्सी धाउनु परिरहेको छ'। खोला खोल्सीबाट पानी ल्याएर बिद्युतको  आधा खर्च घटाउने मेयर साम्पाङ्ले बताए ।