विराटनगर : कोशी प्रदेश नाम खारेजको माग सहित आन्दोलनमा रहेका पहिचानवादी समूहले पटक पटक एमालेका नेताहरू माथि गरेको आक्रमणको घोर निन्दा भर्त्सना गर्दै पार्टीले अब त्यस्तो आक्रमणको प्रतिकार गरिने जनाएको छ ।

पार्टीको कोशी प्रदेश उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि पार्टीको घटनाको निन्दा गर्दै एमाले कोशी प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेले आज वक्तव्य मार्फत उक्त उद्घोष गरेका हुन ।

एमाले पार्टी नेता, कार्यकर्ता माथि हुने गरेका आक्रमण र हिंसाका घटको डटेर प्रतिवाद गर्ने निर्देशन समेत अध्यक्ष न्यौपानेले दिएका छन् । तसर्थ एमाले कार्यकर्ता माथि हुने आक्रमणलाई तुरुन्तै प्रशासनले चासो देखाएन भने कार्यकर्ताहरूले नै ‘ठिक पार्ने ताकत एमालेमा रहेको’ उनले बताएका छन् ।

विकास आयोजनाहरूको अनुगमनका लागि जिल्ला भ्रमणमा गएका बेला जेठ २५ गतेका इलाम नगरपालिका–११ सोयाक भन्ज्याङ्ग पुग्दा एमाले केन्द्रीय सदस्य प्रदेश सभाका एमाले संसदीय दलका उपनेता राम रानालाई पहिचानवादी अपरिचित समूहले अवरोध गरेका थिए ।

बाटोमा ढुंगामुढा तेर्स्याई आवागमन अवरुद्ध गरी राना सवार गाडीमा मोबिल खन्याएर आगो लगाउने प्रयास गरेको वक्तव्यमा उल्लेख छ । सोही दिन उदयपुरको श्री १८ नम्बर वाहिनी भुल्केमा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर विराटनगर फर्की रहेका उपसभामुख दनुवारलाई आक्रमण गरेको थियो ।

त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलाई नारा जुलुस गर्दै  ढुङ्गा मुढा प्रहार समेत गर्दा उपप्रमुख राईको सवारी साधनमा क्षति पुगेको वक्तव्यमा उल्लेख छ ।

यस्ता घटनाहरूले एमाले कोशी प्रदेशलाई गंभिर बनाएको उल्लेख गर्दै कार्यक्रमहरू बिथोल्ने प्रयास गर्ने, पार्टीका अध्यक्ष, मुख्य मन्त्री, मन्त्री र सांसदहरू माथि आक्रमण गर्ने गरेका हुनाले प्रहरी प्रशासन पनि संलग्न भएको आशङ्का वक्तव्यमा जनाइएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिने र कानुनी कार्वाहिको दायरामा ल्याउने काम प्रभावकारी नगरेको हुनाले यस्ता क्रियाकलापको घोर निन्दा र विरोध भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षा बहाल गर्न सङ्घीय सरकार सँग माग गरिएको छ ।

UML-PR