धरान : 'स्विस कनट्याक्ट प्रोग्राम' अन्तर्गत धरान-१२ स्थित मेघा हिमालयन कलेजमा एक महिने हस्पिटालिटी वर्कसप सुरु हुने भएको छ । होटेल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययनरत विद्यार्थी र शिक्षक वर्कसपबाट लाभान्वित हुने भएका छन्।

'स्विस कनट्याक्ट' मार्फत विकासशील राष्ट्रहरूको शिक्षण सिकाइमा सहयोग गर्दै आएको परियोजना अन्तर्गत नेदरल्याण्डबाट आएका हस्पिटालिटी एक्सपर्ट बेरेनड जन हेरिङ्गाले सहभागीलाई प्रशिक्षण गराइरहेका छन् ।

वर्कसपबारे जानकारी दिन बिहीबार कलेजले धरानमा आयोजना गरेको पत्रकार भेटघाटमा एक्सपर्ट हेरिङ्गाले २५ वर्ष हस्पिटालिटी क्षेत्र र २७ वर्ष शिक्षण क्षेत्रमा अनुभव रहेको सुनाए ।

'मानिसलाई नजिकबाट कसरी चिन्न सकिन्छ भनेर हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको हुँ' हेरिङ्गाले भने- नेपालमा हिमाल मात्र छैन, सुन्दरता मात्र छैन, यहाँ नेपालीहरूको स्वागत सत्कार, आतिथ्य र मौलिक संस्कृति छ, त्यसमै गौरव गर्ने र उद्यमशीलताको खोजी गरिनुपर्छ।

नेपालीले युरोपियन शैलीमा होइन, नेपालीको मौलिक शैली, खानपान र आतिथ्य र सत्कारलाई प्रवर्धन गर्नुपर्ने हेरिङ्गाले धारणा राखे ।

बुधवारदेखि धरान-१२ चतरा लाइन स्थित कलेजमा सुरु वर्कसपमा सैद्धान्तिक र प्रयोगात्मक सिकाइ भइरहेको छ।

हिजो हामीले हाइजिनिङ र ग्रुमिङका विषयमा क्लास लियौँ, कलेजका एचएम कोर्डिनेटर पोषण श्रेष्ठले भने, 'आज हस्पिटालिटी सेक्टर र यसबाट हुनसक्ने उद्यमशीलताको विषयमा जान्ने अवसर पायौँ ।

'एक महिनासम्म सञ्चालन हुने वर्कसपमा आतिथ्य र सत्कारको क्षेत्रमा काम गरिरहेका धरानका सरोकारवाला र व्यवसायीहरूसमेत लाभान्वित हुने गरी प्रशिक्षक हेरिङ्गासँग साक्षात्कार गराउने कलेजका प्राचार्य भास्कर पौडेलले बताए ।