धरान : धरान-१२ स्थित मेघा हिमालयन कलेजमा शुक्रवार एक दिने ‘वाइन वर्कसप’ सम्पन्न भएको छ । मेघामा होटेल म्यानेजमेन्ट सङ्कायअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू सो वर्कसपमा सहभागी भए ।

सो कार्यशाला वाइन विशेषज्ञ जुना मास्केले सञ्चालन गरेकी हुन् । उनी काठमाडौँको वसन्तपुरकी हुन् तर हाल जर्मनीमा बसिरहेकी छन् । मास्केले बेलायत र जर्मनीका विश्वविद्यालयहरूबाट इन्टरनेशनल वाइन बिजनेस र हस्पिटालिटी म्यानेजमेन्टमा डबल अनर गरेकी छन् ।

मेघा कलेजकै रेस्टुरेन्ट (प्रयोगशाला) मा आयोजित कार्यशालामा उनले विद्यार्थीहरूलाई वाइन बन्ने प्रक्रिया, वाइन सर्भ गर्ने तरिका, वाइनका विभिन्न प्रकार, वाइन गिलासका प्रकार तथा वाइन बनाइने अङ्गुरका विभिन्न प्रकारबारे जानकारी दिएकी थिइन् ।

उनी जर्मनीमा ‘नेपाली वाइन लेडी’ को रूपमा परिचित छिन् । उनले बेलायत, जर्मनी र नेपालका विभिन्न होटेलहरूमा वाइनसम्बन्धी प्रशिक्षण दिने गरेको मेघाका होटेल म्यानेजमेन्ट विभाग प्रमुख पोषण श्रेष्ठले जनाए ।

‘हस्पिटालिटी इन्डस्ट्री र वाइन एक अर्काका परिपूरक जस्तै भएकाले विभिन्न तारे होटेलहरूमा पाइने वाइनका प्रकार र प्रोफेसनल तरिकाले वाइन सर्भ गर्ने तरिकाबारे विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको हो ।’ श्रेष्ठले बताए । यसबाट विद्यार्थीहरूमा पेसागत सिपको विकास हुने अपेक्षा गरिएको मेघाका प्रिन्सिपल भाष्कर पौड्यालले बताए ।