इटहरी : इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट नीति तथा कार्यक्रममा सुशासनलाई जोड दिएको छ ।

सुशासनको प्रत्याभूति गराउने नीति लिएको उपमहानगरले कर्मचारीलाई कडाइ गर्ने व्यवस्था ल्याएको छ ।

जिम्मेवारीमा अलमल गर्ने, काम पन्छाउने, अनियमितता र भ्रष्टाचारमा संलग्न हुने जो कोहीलाई कडा कारबाही गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सदाचार प्रवर्द्धन र भ्रष्टाचारजन्य क्रियाकलापको अन्त्य गर्नका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै भ्रष्टाचार गर्ने र गराउने दुवैलाई कानुनको दायरा ल्याउने नीति लिएको छ ।

यसअघि खाजा भत्ता तथा अन्य सुविधा कटौती भएपछि कर्मचारी असन्तुष्ट हुँदै आएका छन् । कर्मचारीलाई कडा निगरानी गरेर सुशासन दिलाउने पक्षमा देखिएको छ उपमहानगरपालिका । सोही अनुरूप कार्यालय समय आउँदा र जाँदा अनिवार्य रूपमा इ-हाजिरी गर्ने व्यवस्था मिलाई दैनिक हाजिरी निरीक्षण गरिने भएको छ ।

कार्यलयका कर्मचारीहरूलाई कामप्रति जिम्मेवार र जवाफदेही बनाउन उपर्युक्त स्थानमा उपर्युक्त कर्मचारी नीति अङ्गीकार गरिने भएको छ । चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत ‘राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत तथा खराब काम गर्ने कर्मचारीहरूलाई दण्डित’ गर्ने परिपाटी विकास गरिने भएको छ ।

भ्रष्टाचारको शून्य सहनशीलता पूर्ण रूपमा कार्यन्वयनमा ल्याउन डिजिटल तथ्यांक संकलन गरी घटना दर्ता लगायत राजश्व संकलनलाई व्यवस्थित गरिने भएको ।

जनप्रतिनिधि तथा कर्मचारीहरूको दैनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन आवश्यक तालिम, अभिमुखीकरण साथै अवलोकन भ्रमण गर्ने देखी गुनासो तथा उजुरी पेटिकाको छुट्टाछुट्टै व्यवस्था गरिने भएको छ ।