इटहरी : इटहरी उपमहानगरपालिकाले २ अर्ब ३५ करोड ३१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आइतबार आगामी आर्थिक वर्ष ०८०/८१ को अनुमानित बजेट पेस गरिएको हो ।

आगामी आर्थिक वर्षको लागि सङ्घीय समानिकरण अनुदान ३० करोड १७ लाख, सङ्घीय सशर्त अनुदान ७२ करोड ५७ लाख, सङ्घीय समपूरक अनुदान २ करोड, सङ्घीय विशेष अनुदान ३ करोड ७५ लाखको अपेक्षा गरिएको छ । प्रदेश समानिकरण अनुदानबाट २ करोड ७ हजार, प्रदेश सशर्त अनुदान १ करोड २३ लाख २५ हजार र प्रदेश समपूरक अनुदान १ करोड प्राप्त हुने बजेट उल्लेख गरिएको छ ।

सङ्घीय राजश्व बाँडफाँड १८ करोड ३ हजार, प्रदेश राजस्व बाँडफाँड (सवारी) २ करोड १३ लाख ९६ हजार, प्रदेश राजश्व बाँडफाँड (रजिस्ट्रेसन) ३० करोडको अपेक्षा छ। आन्तरिक श्रोतबाट ६८ करोड १४ लाख नगद मौज्दात परिवर्तनबाट १ करोड र नगर विकास कोषबाट ऋण ३ करोड प्राप्त हुने बताइएको छ ।

चालु खर्च तर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार अर्थात् कुल बजेटको ४९.२७ प्रतिशत, वित्तीय व्यवस्था अन्तर्गत नगर विकास कोषको सावाँ व्याज भुक्तानी तर्फ ५० लाख र पुँजीगत तर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार अर्थात् कुल बजेटको ५०.५२ प्रतिशत विनियोजन गरिएको छ ।

विषयगत तर्फ वडामा फरक फरक बजेट सिलिङ राखिएको छ । २० वडा रहेको उपमहानगरपालिकामा १० वडालाई १ करोड ५५ लाख र बाकी १० वडालाई १ करोड ७५ लाख विनियोजन गरिएको हो । १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९  लाई प्रतिवडा १ करोड ५५ लाख र २,४,५,६,८,९,१२, १६, १७ र २० नम्बर वडाले १ करोड ७५ लाख पाउने भएका छन् ।