धरान : कोशी नामकरण खारेजीको आन्दोलनकारी पहिचानवादी र कोशी प्रदेश सरकार बिचको वार्ता भङ्ग भएको छ ।

संयुक्त सङ्घर्ष समितिले मङ्गलवार वक्तव्य मार्फत प्रदेश सरकारले वार्ताको वातावरण अन्यौलपूर्ण बनाएको आरोप लगाई वार्ता भङ्ग गरेको हो ।

वक्तव्यमा भनिएको छ प्रदेश सरकारको वार्ता टोलीले ‘अन्यौलतालाई चिर्दै वार्ताको वातावरण नबनाए सम्म ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ वार्तामा बस्न नसकिने यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

वार्ता समितिले दोस्रो पटक सङ्घर्ष समिति सँग वार्ता गर्ने मिति असार १३ गते तोकिएकोमा सोही मिति, समय र स्थानमा ‘अर्को पक्ष’सँग पनि वार्ता वार्ता गर्ने जानकारी सार्वजनिक भएकोले ‘वार्ताको वातावरण अन्यौलपूर्ण’ बनाएको वक्तव्यमा उल्लेख छ ।

प्रदेश सरकारले पहिचानवादी आन्दोलनकारी सँग वार्ता गर्न जेठ २४ गते समिति गठन थियो । खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो संयोजक रहेको समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राज भण्डारी र कृषि मन्त्री भक्तिप्रसाद सिटौला छन् ।

वार्ता समितिसँग पहिलो पटक असार ४ गते संयुक्त सङ्घर्ष समिति वार्तामा बसेको थियो । उक्त वार्तामा विषय प्रवेशका बारे ४ घण्टा लामो छलफल भए पनि बिना निष्कर्ष टुङ्गिएको थियो ।

तथापि वार्तालाई निरन्तरता दिने दुवै पक्षबाट प्रतिबद्धता प्रकट भए अनुसार अर्को वार्ता असार १३ गते बस्ने टुङ्गो लागेको थियो ।

वार्ता भङ्ग भएको जानकारी वक्तव्य मार्फत दिएको संयुक्त सङ्घर्ष समितिले समिति वार्ताका लागि सधैँ तत्पर रहेको जानकारी पनि वक्तव्य मार्फत दिएको छ ।

पहिचानवादीको विरोधका बाबजुद प्रदेश सभामा गएको फागुन १७ गते प्रदेशको नाम कोशी बहुमतद्वारा पारित भएको थियो ।

त्यस यता भएको आन्दोलनको क्रममा मृत्यु भएका आन्दोलनकारी लाजेहाङलाई सङ्घीय सरकारले सहिद घोषणा गरिसको छ । त्यसपछि पनि जारी आन्दोलनका बिच प्रदेश सरकारले वार्ता समिति गठन गरेको हो ।

barta-bhanga-