वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा १ करोड ८० लाखको लागतमा बहुउद्देश्यीय भवन निर्माण हुने भएको छ ।

सङ्घीय सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगबाट निर्माण हुने उक्त भवनको मङ्गलवार नगर प्रमुख रमेश कार्कीले शिलान्यास गरेका छन् ।

भवनको शिलान्यास कार्यक्रममा वडा नं.६ का अध्यक्ष उद्धवप्रसाद पोखरेल, इन्जिनियर राजु भट्टराई, वडाका जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालहरूको उपस्थिति रहेको थियो ।

खानेपानी मन्त्रालयको सहयोगबाट देशभर ८ स्थानमा भवन निर्माण योजना अनुसार वराहक्षेत्र नगरपालिकामा पनि उक्त प्रकारको भवन निर्माण हुने भएको नगर प्रमुख रमेश कार्कीले बताए ।

१६ कोठा हुने उक्त भवन वराहक्षेत्र-६ स्थित साकेला पार्क अगाडि रहेको नगरपालिकाको जमिनमा निर्माण हुने र २०२४ मार्च १५ सम्ममा सम्ममा निर्माण सम्पन्न हुने बताइएको छ ।

बहुउपयोगी भवनको रूपमा निर्माण हुने उक्त भवनलाई नगरपालिकाले अस्पतालको रूपमा प्रयोग गर्ने योजना रहेको नगर प्रमुख कार्कीले बताए ।