वराहक्षेत्र : नेपालकै प्रसिद्ध तीर्थस्थलको रूपमा रहेको वराहक्षेत्र धामको विकास र प्रर्बधन गर्न नगरपालिकाले योजना बनाएर काम गर्ने नगर प्रमुख रमेश कार्कीले बताएका छन् ।

वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित धर्तीकै पहिलो तीर्थको रूपमा व्याख्या गर्ने गरिएको मन्दिर परिसरको वातावरण सुन्दर बनाउन नगरपालिकाले  सरसफाइ, भौतिक संरचनाको काम गर्ने र अन्य सरोकारवाला निकायसँग सहकार्य, समन्वय गरेर धार्मिक पर्यटकलाई आकर्षित गर्न योजना बनाइने नगर प्रमुख कार्कीले बताए ।

शनिवार मन्दिर परिसरमा नगर प्रमुख कार्कीको अध्यक्षतामा मन्दिरको विकास प्रर्बधन देखि भेटी र पुजारीहरूको व्यवस्थापनमा समेत छलफल भएको थियो ।

छलफलमा संस्कृति पर्यटन मन्त्रालयकी उपसचिव पुण्यमाया कोइराला, वडा नं.१ का अध्यक्ष किसन मगर, बृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरे, सदस्य सचिव गोपाल खत्री, वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ, औलिया मठका महन्त विनायक पुरी, मन्दिरका मूल पुजारी किरण भण्डारी लगाएको उपस्थिति रहेको थियो।

मन्दिरमा भक्तजनहरूले प्रदान गर्ने भेटीको सार्वजनिक र पुजारीको व्यवस्थापनको विषयमा समेत छलफल भएको थियो । नगर प्रमुख कार्कीले मन्दिरका पुजारीहरूलाई पारिश्रमिकको व्यवस्थापन गरेर भेटिलाई सार्वजनिक गरेर व्यवस्थापन गर्नुपर्ने बताए ।

हाल मन्दिरका पुजारीहरूले गुठी संस्थानबाट लिई रहनु भएको सेवा सुविधा ज्यादै न्यून भएको र पुजारीहरूलाई सम्मान सहित उचित पारिश्रमिकको व्यवस्थापन गर्न नीति बनाएर भेटी र पुजारीहरूको व्यवस्थापनको काम गर्न सबै संस्थाहरू लाग्नु पर्ने नगर प्रमुख कार्कीको भनाई थियो ।

मन्दिरको भेटीको व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग समन्वय गरी नगरपालिकाले कार्यविधि बनाउने र भेटिलाई पारदर्शी बनाएर सार्वजनिक गर्न नगरपालिकाको योजना रहेको कार्कीले बताए ।

मन्दिरको भेटीहरू पुजारीले नै उपयोग गर्दै आएको र स्थानीय सरकारले यसको व्यवस्थापनमा चासो देखाउनु राम्रो कुरा भएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।

मन्दिरका पुजारीहरू गुठी संस्थाले दिने न्यूनतम पारिश्रमिकबाट काम गर्दै आइ रहेको र पुजारीलाई व्यवस्थापन गरेर भेटी सार्वजनिक गर्नुपर्ने बृहत्तर वराहक्षेत्र विकास समितिका अध्यक्ष भेषराज घिमिरेले बताए ।

वराहक्षेत्र मन्दिरको भेटीहरू परापुर्वककाल देखिनै मन्दिरका पुजारीले नै उपयोग गर्दै आई रहेको यसको व्यवस्थापन र सार्वजनिकको विषयमा नगरपालिकाले चासो देखाउनु राम्रो कार्य भएको स्थानिय दीपक परियार बताउँछन् ।