वराहक्षेत्र : सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको पश्चिम भूभागमा तीव्र कटान गर्न सुरु गरेको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि सप्तकोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलङ्का टापुमा कटान सुरु गर्न थालेको हो ।
सप्तकोसीको बाढीले पश्चिमतर्फको भू-भाग कटान गर्दा श्रीलङ्का टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् । सोमवार कोसी कटान क्षेत्र श्रीलङ्का टापुका स्थानीबासीहरूसँग प्रकोपको पूर्व तयारी बारे नगर प्रमुख रमेश कार्कीले छलफल गरेका छन् ।
जिल्ला प्रशासन  कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत ३ वटै सुरक्षा निकायहरूका जिल्लाका प्रमुख सहित टापु पुगेका नगर प्रमुख कार्कीले स्थानी बासीहरूसँग छलफल, पूर्वतयारी, कटानको अवस्था, सुरक्षितस्थान बारे जानकारी र प्रकोपको पूर्व तयारी बारे छलफल गरेका थिए ।
नगर प्रमुख कार्कीले कोसी कटानलाई नियन्त्रण गर्न तत्काल जिल्ला प्रशासन र गृह मन्त्रालय मार्फत बिहार सरकारको ध्यानाआक्रष गराउन आग्रह गरेका थिए। प्रदेश सरकार, सङ्घीय सरकार मार्फत नगरपालिकाले पनि कटान नियन्त्रणलागि काम थाल्ने र सरकारका सम्पूर्ण निकायहरू कोसी कटान नियन्त्रणमा लाग्नु पर्ने नगर प्रमुख कार्कीको भनाई छ ।
सप्तकोशी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, कोसी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कङकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू जोखिममा रहेका छन् ।
prakop ko tayari 2