धरान : कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राती गएको भूकम्पले जनधनको ठुलो क्षति पुर्‍याएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्थानीयबाट आज राती करिब १ बजे सम्म २६ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

आज शनिवार बिहान ४ बजेसम्म भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ५० जना भन्दा बढी भएको जिल्ला प्रशासन तथा प्रहरीबाट प्राप्त भएको समाचारहरू आइरहेका छन् । मृत्यु हुनेका सङ्ख्या र भौतिक क्षतिको अनुमान तत्काल गर्न सकिएको छैन ।

भूकम्पमा जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । घाइतेहरू जाजरकोट अस्पताल ल्याउने क्रम जारी छ । मा १०० जनाभन्दा बढीको उपचार भइरहेको पनि स्वास्थ्य कार्यकर्ताहरूले बताएका छन् ।

भूकम्पपछि गएको सुख्खा पहिरोले बाटो अवरुद्ध हुँदा घाइतेको उद्धार र उपचारका निम्ति अस्पताल ल्याउन कठिनाइ भएको स्थानीय प्रशासनले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प मापन गरिएको छ ।

जिल्ला प्रशासनले घाइतेहरूको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भएको जनाएको छ ।

भूकम्पको धक्का देशका विभिन्न भागहरू सहित काठमाण्डौमा समेत गरिएको थियो । भारतीय राजधानी नयाँ दिल्ली, पटना लगायतका सहरहरूमा अनुभव गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको बिबिसीको समाचारमा उल्लेख छ ।

bhukampa