विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अब उद्योग व्यवसाय दर्ता गर्न काठमाडौँ जाने झन्झट बेहोर्नु नपर्ने र अबको एक हप्ता भित्रमा प्रदेशमै उद्योग दर्ता गर्ने व्यवस्था मिलाइने बताएका छन् ।

उनले भने ‘अब उद्योग दर्ताका लागि काठमाडौँको झन्झट बेहोर्नु पर्ने अवस्था हुँदैन, हातहतियार सम्बन्धी विशेष उद्योग बाहेक अरू उद्योग अब प्रदेशमा दर्ता हुन्छ ।’ प्रदेश योजना आयोगको प्रथम आवधिक योजना कार्यान्वयनको समीक्षात्मक गोष्ठीमा मुख्यमन्त्री कार्कीले उक्त कुरा बताएका हुन् ।

उनले सरकार र निजी क्षेत्र एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै प्रदेशलाई निजी क्षेत्र मैत्री बनाइने बताए । मुख्यमन्त्री कार्कीले भोकमरीबाट पीडित नागरिकलाई आत्मनिर्भर बनाउने अभियानको थालनी चाँडै गर्ने बताउँदै जनतालाई पर निर्भरतामा भन्दा आत्मनिर्भरतामा जोड दिने उल्लेख गरे ।

उनले सरकारले व्यवसायको प्रवर्द्धनका लागि अब अनुदान भन्दा पनि सापटी उपलब्ध गराउने पनि बताए । मुख्यमन्त्रीले भने ‘अनुदानमा चैँ के केमा अनुदान छ त्यो हेरेर त्यसै तर्फ लाग्ने अनुदान पाएपछि छोडेर हिँड्ने अवस्था आयो ।’ उनले अब त्यसो हैन मानिसलाई उद्यमी बनाउनका लागि सापटीको व्यवस्था गर्ने बताएका हुन् ।

विषय विज्ञको रूपमा प्रदेशको प्रथम आवधिक योजना कार्यान्वयनको अवस्थाको प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले परिमाणात्मक लक्षमा ५० प्रतिशत हासिल भएको उल्लेख गरे ।

उनले गार्हस्थ्य उत्पादन राजस्व तथा सुशासनको क्षेत्रमा लक्ष्यको नजिक सन्तोषजनक उपलब्धि हासिल भएको उल्लेख गर्दै निर्णय प्रकृतमा छरितोपन साथै अनुगमनमा निजी क्षेत्रमैत्री वातावरण निर्माण गरी नीति कार्यान्वयन गर्न जरुरी भएको कुरामा जोड दिए ।

गोष्ठीका सहभागीहरूले कोशी प्रदेशमा विकाशका दृष्टिले अनेकौँ सम्भावना रहेको बताउँदै त्यसको उपयोग र व्यवस्थापनको कार्य गरी लाभ लिन सकिने उल्लेख गरे । उनीहरूले दीर्घकालीन सोच अनुसार दिगो विकाशका लागि पाइला चाल्नुपर्नेमा ध्यानाकर्षण गराए ।

गोष्ठीको अध्यक्षता गरेका प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले आम जनताको सहभागितामा देशको निर्माण हुने उल्लेख गर्दै योजना आयोगले त्यस अनुसारको कार्य गर्ने बताए ।