धरान: बौद्ध धर्मको चारधाम(मिनि लुम्बिनी) धरानमा पनि निर्माण गरिने भएको छ । हाल धरान ८ स्थित बौद्ध दाहसंस्कार स्थलमा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल बनाउन लागिएको हो ।

बौद्ध चार धाम बनाउने उद्देश्यले यही असोज २५, २६ र २७ गते तीन दिने बुद्ध शिक्षा प्रवचनको तयारी गरिएको छ । गुरु विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोछेको उपस्थितिमा यो प्रवचन हुनेछ । मिनि लुम्बिनीकोरुपमा बिकास गर्न बुद्धको जन्म स्थान, ध्यानस्थल बोध गया, बुद्ध शिक्षा प्रचार गरेको स्थान शारनाथ र महापरिनिर्वाण भएको कुशिनगरको प्रतिरुप बनाउने कुरा बौद्ध दाहसंस्कारका अध्यक्ष कर्ण तमुले जानकारी दिए । उनका अनुसार २ करोड ६८ लाख बराबरको डिपिआर बनाइएको छ ।

बौध चारधामको यसअघि नै मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरिएको थियो । यसको लागि चालु आर्थिक वर्षमा धरान उपमहानगरपालिकाले १० लाख, प्रदेश सरकारले १० लाख र पर्यटन बोर्डबाट १० लाख गरि कुल ३० लाख वजेट विनियोजन भएको छ । दाहसंस्कारका पुर्व अध्यक्ष सेतुमान पाख्रिनले चार धाम बनाउन करिब २० बिघा जग्गा रहेको जानकारी दिए । धरानलाई धार्मिक पर्यटनकोरुपमा विकास गर्न मिनि लुम्बिनी बनाउने योजना बनाइएको उनले बताए । दाहसंस्कारस्थल २०५५ सालमा जिल्ला वन कार्यालय सुनसरीमा बिधिवत रुपमा दर्ता भएको थिाये ।

मुख्यमन्त्रीको आतिथ्यमा बौद्ध शिक्षा प्रवचनको उद्घाटन हुने

असोज २५ गतेदेखि शुरु हुने बौद्ध शिक्षा प्रवचनको उद्घाटन मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुनेछ । बौद्ध शिक्षा प्रवचनमा ध्यान पनि हुनेछ भने २ हजार बढिको उपस्तिथि हुने आयोजकको भनाई छ । श्रीधर महायोगी पद्म शम्शेरको नाती हुन् ।

राणा रिम्पोछेले २१ वर्ष अन्तर्ध्यान गरेको बताइएको छ । उनले १२ वर्ष हिन्दु धर्मको र ९ वर्ष बौद्ध धर्मको अन्तर्ध्यान गरेको आयोजकले जानकारी दिएको छ । बौद्ध शिक्षा कुनै जात बिशेषको लागि नभएको भन्दै इच्छुक सबै जातजातिको लागि खुल्ला रहेको बताए।