वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिर परिसरमा बर्षनि हुने कोशी नदी कटानको दिगो नियन्त्रणका लागि नगरपालिकाले योजना बनाएर काम गर्ने भएको छ ।
धर्तीको पहिलो तीर्थको रहेको वराहक्षेत्र मन्दिरसँगै रहेको बस्ती क्षेत्र कोशी कटानको उच्च जोखिममा रहेकाले नगरपालिकाले माथिल्ला सरकारहरूसँग समन्वय गरेर कोशी कटान नियन्त्रणका लागि काम अगाडि बढाएको वराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीले बताए ।
कोशी नदिको कटानको उच्च जोखिममा रहेको वराहक्षेत्र मन्दिरको संरक्षण र नदिको कटान नियन्त्रणकालागि नगरपालिकाले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई आग्रह गरिएको र तत्कालै मुख्यमन्त्रीबाट कटान नियन्त्रणकालागि २ करोड बजेट उपलब्ध भएको नगर प्रमुख कार्कीले बताए । मन्दिर तलतिरको भूभागमा वर्षाको समयमा कोशी नदिले कटान गर्दै आएको र हाल मन्दिर सहित बस्ती क्षेत्र जोखिममा रहेको छ।
कटान नियन्त्रणकालागि शुक्रवार प्रदेश सरकारका पर्यटन विकास आयोजनाका प्रमुख तथा इन्जिनियरहरूको टोलीले स्थलगत निरीक्षण समेत गरेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए ।
नगर प्रमुख रमेश कार्की सहितको निरीक्षण टोलीमा प्रदेश सरकारका पर्यटन विकास आयोजनाका प्रमुख कुलदिप प्रसाद यादव, वडा नं. १ का अध्यक्ष किसन मगर, नगरपालिकाका सिनियर इन्जिनियर राजु भट्टराई, पर्यटन विकास आयोजनाका इन्जिनियर जुनिल पौडेल, आर्जन वाग्ले, वडा सदस्य कुमार भट्टराई लगाएर स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        