इटहरी : कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीलाई सेवा सुविधा दिने गरी अध्यादेश जारी गरेको छ । सरकारले प्रदेशसभामा रहेका पूर्व मुख्यमन्त्री तथा सत्ता पक्षकै दलका नेताहरू, प्रमुख प्रतिपक्षी दल तथा प्रतिपक्षी दलका नेताहरूलाई गाडी तथा सेवा सुविधा थप गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारले माघ ६ गते जारी गरेको अध्यादेशमा सरकारमा सहभागी भएका संसदीय दलका नेता तथा विपक्षी दलका नेतालाई सेवा सुविधा दिने उल्लेख छ ।

अध्यादेश लागु भएपश्चात् सत्ता पक्षका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई, काँग्रेस दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धव थापा, माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बो, प्रतिपक्षी दल राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र एक मात्रै सांसद रहेको जसपाकी सांसद निर्मला लिम्बूले गाडी लगायत सेवा सुविधा पाउने भएका छन् ।

गाडी बाहेक संसदीय दलको नेताको हैसियतमा मासिक ५० हजार रुपैयाँ पारिश्रमिक, सवारी साधनका लागि मासिक १२५ लिटर तेल र एक जना सवारी चालक पाउने भएका छन् ।

यसअघि सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्ता पक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई सेवा सुविधा दिने विषय उल्लेख थियो । सत्तापक्ष र प्रतिपक्षको हिसाबमा बनेको ऐन संशोधन हुन लागेको हो।

हाल सत्तापक्ष दलका नेता मुख्यमन्त्रीको जिम्मेवारीमा छैनन् । सत्ता पक्षका दलका नेतालाई सुविधा दिनेगरि सरकारले तयारी अगाडी बढाएको बुझिएको छ । हाल माओवादी दलका नेता आङ्बो र एमाले दलका उपनेता राम रानाले ऐन विपरीत नै सुविधा प्रयोग गरिरहेका छन् ।