इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । मन्त्रालय विस्तार गरेसँगै ९ सदस्यीय मन्त्रीपरिषद् गठन भएको हो। मुख्यमन्त्री मातहत ३ मन्त्रालय रहेकाले हाल कोशी प्रदेशमा मन्त्रालयको सङ्ख्या १२ पुगेको छ ।
सोमबार कार्कीले २ मन्त्री सहित २ राज्यमन्त्री थप गरेका छन् । यसअघि खानेपानी मन्त्री रहेका तिलकुमार मेन्याङ्बोले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । पाँचकर्ण राईले पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाए ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी र खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रीमा बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् । सृजना राई यसअघि नै सामाजिक विकाश राज्यमन्त्रीको जिम्मेवारीमा छिन् ।
थप राज्यमन्त्रीमा सुनसरी क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित सांसद रामप्रसाद मेहता कृषि सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री चयन भएका छन् । त्यससँगै मुख्यमन्त्री कार्की मातहत कृषि सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकाश मन्त्रालय छ ।
सर्वोच्च अदालतले भदौ २२ मा संविधानको धारा १६८ ९३० अनुसार ठुलो दलको हिसाबमा सरकार गठन गर्न आदेश दिएपछि मुख्यमन्त्री भएका कार्कीले मन्त्रालय विस्तार गरेका हुन् । कार्कीले असोज २० भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहे पनि हालसम्म राप्रपा बाहेक कुनै पनि दलले समर्थन गर्ने प्रतिबद्धता जनाएका छैनन् ।
राप्रपा बाहेक अन्य दलले समर्थन नगरे कार्कीले विश्वासको मत नपाउने प्रष्ट छ ।