इटहरी : कोशी प्रदेश सरकारको सय दिने उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री केदार कार्कीले अन्य प्रदेश र सङ्घीय सरकारले अनुसरण गर्ने काम गरेको उल्लेख गरेका छन् ।

कोशी प्रदेश सरकारले २५ लाख भन्दा कम बजेटका योजना नल्याउने निर्णय गरेसँगै अन्य प्रदेश र सङ्घीय सरकारमा समेत त्यसको प्रभाव परेको बताएका हुन् ।

संविधानको कार्यान्वयनको लागि सातै प्रदेशका मुख्यमन्त्रीको भेलाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र चाडै प्रहरी समायोजन हुने भएको बताएका छन् । भ्रष्टाचारको सवालमा शून्य सहनशीलताको नीति अपनाएको बताउँदै उनले सुशासनमा कसैसँग सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

मानवीय विकासमा केन्द्रित रहेको उनको प्रगति विवरणमा उल्लेख छ । १० बर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार देखि शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ ।

इटहरीमा जलन अस्पताल निर्माणको प्रक्रिया सुरु भएको, विद्युतीय चार्जिङ स्टेसन सञ्चालन गरेको, पहिचान पक्षधरको माग सम्बोधन गर्ने वार्ता समिति गठन गरेको लगायत प्रगति भएको कार्की जानकारी गराए ।

सुकुम्वासीको जग्गा खरिदमा ब्याज अनुदान दिने देखि रासायनिक मलको आपूर्ति सहज बनाउने तयारी भएको प्रगति विवरणमा बताइएको छ । १० वटा सिँचाई आयोजना सम्पन्न गर्ने बताएका कार्कीले पुँजीगत खर्च बढाइएको जनाएका छन् ।