धरान : सङ्खुवासभा आइडल सिजन-३ का प्रतिस्पर्धीहरुको प्रस्तुति सहित धरानमा माघ २६ गते आज  ‘साइनो साँझ’ हुने भएको छ ।

साँझ अरुण भ्याल्ली इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा धरान सङ्खुवासभा सरोकार समाजको व्यवस्थापनमा हुने भएको हो ।

धरान-१५ किरात याक्थुङ चुम्लुङको सभा हलमा हुने साँझमा कन्सर्ट बेस्ड 'रियालिटी शो'बाट सङ्खुवासभा आइडल-३ का उत्कृष्ट १३ जनाले प्रस्तुति दिने छन् ।

उक्त प्रस्तुतिबाट उत्कृष्ट ५ जना छनोट हुने संयोजक वीरबहादुर लिम्बूले बिहीबार धरानमा आयोजित पत्रकार सम्मेलनमा बताए । कोशी प्रदेश स्तरीय सङ्खुवासभा आइडल सिजन-३ का लागि उत्कृष्ट ५ धरानमा छनौट भएपछि २०८१ साल भदौ १६ गते उत्कृष्ट-३ छनौट प्रतियोगिता काठमाडौँ स्थित राष्ट्रिय नाचघरमा हुने संयोजक लिम्बुले बताए । त्यसपछि ग्राण्ड फिनाले सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न हुनेछ ।

आइडल छनौट चरणमा २९ वटा कन्सर्ट आयोजना हुने आयोजकले जनाएको छ । हाल २४ वटा कन्सर्ट सकिएको बताउँदै संयोजक लिम्बूले प्रतियोगितालाई कन्सर्ट बेस्ड रियालिटी शो सिरियल प्रस्तुतिको रूपमा अघि बढाइएको जानकारी दिए ।

प्रतियोगिता उत्कृष्ट ५ छनौट भएका प्रतियोगीले व्यक्तिगत एउटा गीत रेकर्ड गराउने अवसर प्राप्त गर्नेछन् । स्टुडियो राउण्डमा ५ सिनियर सङ्गीतकारका गीत पाउने छन् । ५ जना डेब्यु गीत लिएर दार्जिलिङ र सिक्किमको सात दिने भ्रमणमा जानेछन् ।

धरानमा आयोजना गरिने कन्सर्टमा २ लाख रुपैयाँ खर्च लाग्ने उनले बताए । सहसंयोजक मनिष श्रेष्ठका अनुसार उत्कृष्ट २० देखि भोटिङ राउण्ड सुरु भएको आइडलको उत्कृष्ट १० छनोटपछि ३ जनालाई वाइल्ड कार्ड मार्फत प्रवेश गराइएको छ ।