धरान : सुनसरी-१ बाट निर्वाचित वर्तमान विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने योजनाको सर्भेक्षण कार्य सकिएको बताएका छन् ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आज आइतबार आयोजित धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषयक कार्यशाला उद्घाटन समारोहमा मन्त्री राईले सर्भे रिपोर्ट खानेपानी मन्त्रालयमा पुगेको उल्लेख गर्दै भने, ‘योजनाको लागि ५ अर्ब रुपया लाग्ने अनुमान गरिएको छ, रकम आर्थिक वर्ष २०८१/०८२ को बजेटमा विनियोजन हुनेछ ।’

उनका अनुसार विशेषज्ञहरूले खानेपानीको उक्त योजनामा हुने लगानी १० वर्ष भित्रमा उठिसक्ने बताएका छन् । योजना निर्माण पुरा हुन ३ वर्ष सम्म लाग्नेछ । कोशीबाट ल्याइएको पानी धरानका उपभोक्ताका घरको ओभरहेड टङ्कीमा सहजै चढ्ने बताइएको छ ।

खानेपानी मन्त्रालयले योजनालाई तीव्रता पूर्वक अघि बढाएको बताउँदै मन्त्री अशोक राईले सप्तकोशी नदीबाट लिफ्टिङ सिस्टमबाट पानी ल्याउन लागिएको बताए । उनले भने, ‘कोशी नदीबाट पानी तानेर विष्णुपादुकाको डाँडामा ल्याइने छ ।’

त्यहाँ रिजभ्र्वायर ट्रयांकीका लागि जग्गा खरिद गरिने बताउँदै उक्त रिजभ्र्वायरबाट धरानका विभिन्न ट्याङ्कीमा पानी खसाई सर्वसाधारणलाई वितरण गरिने छ । मन्त्री राईले खानेपानी योजनाको प्रस्तावित कार्यहरूका बारेमा धरानका मेयर हर्क साम्पाङलाई सबै कुराको जानकारी भएको बताउँदै भने, ‘मेयर साबले भन्नु भएको छ, छैन, मैले भनिदिएँ ।’

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा धरानमा स्थापना गर्न लागेको विशिष्टिकृत अनुसन्धान केन्द्रको लागि अत्यन्तै उपयुक्त ठाउँ रोजिएको मन्त्री राईले बताए ।

यो क्षेत्र कृषिको प्राथमिकतामा पर्ने भएको बताउँदै प्रशोधन र बजारीकरणको क्षेत्रमा आवश्यक प्रविधि र प्राविधिकको विषयमा नाष्ट केन्द्रित हुनुपर्ने कुरामा ध्यानाकर्षण गराए ।

खाद्य प्रविधिमा पढाई गर्नेहरू अहिले आफ्नो योग्यता र अनुभव विदेशमा गएर प्रयोग गरिरहेको आफू विदेश भ्रमणमा जाँदा थाहा भएको बताउँदै मन्त्री राईले त्यस्तो ज्ञान स्वदेशमै उपयोग गर्नका लागि उपयुक्त वातावरण बनाउन नाष्टले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

mantri ashok rai 2