धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. गुरुप्रसाद खनालले आज आइतबार पत्रकार सम्मेलनको आयोजना गरी बदनियत पूर्ण रूपमा आफ्नो चरित्र हत्या गरिएको बताएका छन् ।

उनले अनलाइन पोर्टल, सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो बदनाम गर्न बदनियतले समाचार लेखेको विषयमा पत्रकार सम्मेलन गर्दै परिचालित भएर आफू विरुद्ध समाचार लेखेका बताएका हुन ।

उनले भने ‘चरित्रहत्या गर्ने काम भएको छ । राज्यले छुट दिनु हुँदैन ।’ आफू कानुनी राज्यमा रहेकाले  कानुनी उपचार खोजेको र रोजेको उनले बताए । उनले एक अनलाइनले ‘एसएलसी फेल खनाललाई बीपी प्रतिष्ठानको उपकुलपति बनाउने तयारी’ शीर्षकमा समाचार लेखेको विषयमा आइतबार पत्रकार सम्मेलन गरेका हुन ।

उनले आफू एसएलसी फेल नभएको बताउँदै कक्षा जहिले प्रथम हुने भएता पनि २०३८ सालमा एसएलसी दिँदा पहिलो पटकको परीक्षामा फेल भएको स्वीकार गर्दै ‘तर पछिल्लो वर्ष परीक्षा दिएर उत्तीर्ण भएको हो ।’

उनले पत्रकार सम्मेलनमा एसएलसी उत्तीर्णको प्रमाण पत्र समेत सार्वजनिक गरे । प्रा.डा. खनालले साजिलाल मावि  सुन्दरदुलारी मोरङबाट २०३८ सालको एसएलसी दिएका थिए । उक्त परीक्षामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण देखिएको छ । २०३९ सालमा दिएको पूरक परीक्षामा प्रा.डा खनालले ४६ अङ्क लिएर उत्तीर्ण भएको प्रमाण पत्र देखाए ।

पत्रकार सम्मेलनमा आफूलाई बिहारबाट नक्कली प्रमाण पत्र लिएको मिथ्या समाचार लेखेको बताउँदै भने, ‘महाराजगञ्जमा अध्ययन गरेको हुँ तर समाचारमा महाराजगन्ज काठमाण्डौंलाई बिहार बनाएको छ, मेरो सर्टिफिकेट हेर्नुस् ।’ उनले सर्टिफिकेट सार्वजनिक समेत गर्न आग्रह गरे ।

समाचारमा दिएको मार्कसिटमा प्रतिष्ठानको छाप प्रयोग भएको देखाउँदै उनले प्रतिष्ठान र चरित्र हत्या गर्ने विरुद्ध कानुनी उपचार खोजेको  बताए । उनले भने, ‘साइबर ब्युरोमा उजुरी दिएको छु । थप कानुनी उपचार खोज्छु ।’

उनले यस विषयमा प्रतिष्ठान प्रशासनले छानबिन गर्नुपर्ने बताए । भने ‘प्रतिष्ठानले दोषीलाई कारबाही गर्नु पर्छ ।’ प्रतिष्ठानमा समस्या परेको बेलामा लुटेर खाने तत्त्वले चरित्रहत्या गरेको, प्रतिष्ठानलाई ध्वस्त पार्ने र फाइदा दिइरहनु केही तत्त्व लागि परेको उनको भनाई छ। उनले पत्रकार पैसामा बिक्री भएर समाचार लेखेको पनि आरोप लगाए । उनले आफूले उपकुलपति हुनका लागि लबिङ नगरेको बताउँदै भने, ‘राज्यले जिम्मा दिन्छ भने कठिन परिस्थितिमा पनि जिम्मा लिन चुनौती दिन्छु ।’

प्रतिष्ठानका प्रा.डा विक्रम प्रसाद श्रेष्ठले पनि बदनियत पूर्ण रूपमा समाचार लेखेर चरित्रहत्या गरेको बताए । उनले भने ‘दुई चार हजारमा विक्रि भएर समाचार लेखेको हो ।’ बदनियतपुर्ण तरिकाले लेख्नेलाई दुरुत्साहन गर्नुपर्छ । नभए सबैलाई बदनाम गर्ने बताए ।

Marksheet-2