धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपतिको लागी आवेदन खुलेको छ ।

लामो समयदेखी अस्तव्यस्त रहेको प्रतिष्ठानलाई व्यवस्थित बनाउने जिम्मेवारीसहित नयाँ उपकुलपतिको काँधमा आउने देखिन्छ । पछिल्लो समय आर्थिक तथा प्राविधिक क्षेत्रमा देखिएको अनियमितता र कमजोरीले प्रतिष्ठानको साख गुम्दै गएको छ ।

पुरानो साख फर्काउने जिम्वेवारी नयाँ उपकुलपतिका निर्भर हुने देखिएको छ । तर हालका कार्यवाहक उपकुलपति डा.गुरु खनाल आफ्नो छोटो कार्यकालमा प्रतिष्ठानको पुनर्जीवन पाएको बताउँछन् । धेरै बिग्रेका र भत्किएका संरचनाको निमार्ण गर्ने काम आफ्नो नेतृत्वमा भएको उनको भनाई छ ।

लामो समयदेखि थन्किएको अक्सिजन प्लान्ट पुनः सुचारु गर्ने काम आफ्नै कार्यकालमा सुरु भएको उनको दाबी छ । ‘१ दिनका ८० हजारसम्मको अक्सिजन किन्नुपर्ने बाध्यता हटाउने काम भएको छ,’उनले भने,‘मैले एक रुपैयाँ पनि खर्च नगरी प्लान्ट बनाउने काम गरे ।’ बिजुलीको सर्कुलेसनमा केही समस्या भएकोले अक्सिजन प्लान्ट थोरै समस्यामा रहेको स्विकार गर्दै उनले दिर्घकालीन समाधानको लागी पुर्णउपकुलपति भएको अवस्थामा काम गर्ने बताए ।

फर्जी चेक प्रकरण र बिजुलीको बिल भुक्तानीमा देखिएको अनियमितता बाहिर ल्याउन आफ्नो भुमिका रहेको उनको भनाई छ । पहिलैदेखी यस्ता आर्थिक अनियमितता हुने गरेको तर आफुले नेतृत्व गर्न थालेदेखी सबै कुरा सुध्रिएर गएको उनको दाबी छ । त्यस्तै इमरजेन्सीमा चौबीसै घण्टा चल्नुपर्ने अत्यावश्यक सिटी स्क्यान मेसिन पनि एक रुपैया खर्च नगरी ल्याएको उनको भनाई छ ।

पहिला सिटीस्क्यान नभएर धेरै बिरामी रिफर गर्नुपर्ने अवस्था अहिले समाधान भएको उनी बताउँछन् । त्योसंगै अत्यान्तै संवेदनशिल क्याथ ल्याब बिगत लामो समयदेखि नचल्ने बनाईएको र आफु निमित्त भएको २ महिनामै बिना लगानी संचालन गरिएको उनले दाबी गरेका छन् ।

खनालका अनुसार आफ्नै पहलमा २० वटा डायलासिस र ९ वटा आईसियु थप्ने गरी काम सुरु गरिसकिएको छ । आफु आउनु भन्दा अगाडी रेडियोलोजीमा ९ वटा अल्ट्रासाउन्ड मेसिन मध्ये ७ वटा बिग्रिएको अवस्था थियो । जसमध्ये अहिले दुईवटा बाहेक सबै मेसिन पुुणरुपमा सुचारु भइसकेको बताए । त्यसका अलबा ल्याब रिपोर्ट छिटो उपलब्ध गराउनेदेखि बिलकाउन्टर थप्ने काम सुरु गरिएको उनको भनाई छ ।

कार्यवाहक भएकै अवस्थामा प्रतिष्ठानमा धेरै सुधार गरेको भन्दै उनले पुर्ण उपकुलपति भए प्रतिष्ठानको पुरानो साख जोगाउने दोहोर्याए । अब आउने उपकुलपतिले प्रतिष्ठानका संवेदनशिल बिषयमा ध्यान दिएर काम गर्न जरुरी रहेको उनको बुझाईछ ।