धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बेतिथिको भुमरीमा फस्दै गएको छ। लामो समय सम्म प्रतिष्ठानका सेवा नै बन्द गरेर भएको चिकित्सक, कर्मचारी तथा विद्यार्थीको आन्दोलन र व्यवस्थापकीय क्षमताको अभावमा प्रतिष्ठान कमजोर बन्दै गएको हो । प्रतिष्ठानलाई थप थिलथिलो बनाउन एसएलसी फेल डाक्टरलाई उपकुलपति बनाउने तयारी सुरु भएको छ । 

हाल प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा कर्मचारीले माघ २७ गते बाट आन्दोलन स्थगित गरेका छन् । यसअघि पनि चिकित्सक, विद्यार्थी तथा कर्मचारीले प्रतिष्ठानमा लामो समय आन्दोलन चर्काए । 

मौलाउँदै गएको बेतिथि र भ्रष्टाचारको प्रत्यक्ष प्रभाव प्रतिष्ठानको पठनपाठन र उपचारमा पर्ने गरेको छ । राजनीतिक भर्ती केन्द्रको कारण बढेको भ्रष्टाचारलाई थप मलजल पुर्‍याउने गरी सरकार अगाडी बढेको छ । 

यसअघि निमित्त उपकुलपति भएर असफल भइसकेका एसएलसी फेल डाक्टर गुरुप्रसाद खनाललाई उपकुलपति बनाउन सरकार लागि परेको छ । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आफै खनाललाई उपकुलपति बनाउने योजनामा छन् । 

माओवादी केन्द्र निकट खनालको एसएलसी मार्कसिटमा अङ्ग्रेजी विषयमा फेल छन् । २०३८ सालको एसएलसीमा फेल भएका खनालले भारतको बिहारबाट इन्टरमिडियट तहको सर्टिफिकेट ल्याएको बुझिएको छ । एसएलसी फेल भएर नक्कली डकुमेन्टबाट डाक्टर भएका खनाल माओवादीको रोजाइमा परेका छन् । 

डा.खनालको डकुमेन्ट नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो । अख्तियारले खनाललाई २०७७ भदौ २२ गते पत्र पठाउँदै सम्पूर्ण शैक्षिक प्रमाणपत्र माग समेत गरेको थियो । जुन मुद्दा हालसम्म विचाराधीन रहेको स्रोतले बतायो ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा खनाललाई उपकुलपति बनाउने खेल सुरु भएको हो । हालका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई हटाएर खनाललाई उपकुलपति बनाउन प्रधानमन्त्री स्वयम् लागिपरेको बताइएको छ । विगतमा असफल साबित भएका खनालले प्रतिष्ठानको नेतृत्वमा आए झनै समस्या बढ्ने सरोकारवालाहरू बताउँछन् ।

२०८० असार १७ गते प्रतिष्ठानका सहकुलपति रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रा.डा. प्रह्लाद कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिएका थिए । अर्को व्यवस्था नभएसम्मका लागि प्रा.डा.कार्कीलाई कामु उपकुलपतिको जिम्मेवारी दिने  मन्त्री स्तरीय निर्णय भएको थियो ।

Guru Khanal MarksheetAkhtyar-letter