धरान : वराहक्षेत्र-९ राजाबासमा आज बिहान १ बजेर ५ मिनेटको समयमा टाटा सुमो गाडीमा ल्याएको भारी परिमाणमा गाँजा सहित २ जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले पक्राउ गरेको छ ।

प्रहरी अनुसार गाँजाको परिमाण ४०६ केजी ९४० ग्राम छ । उक्त गाँजा सहित धरान-४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी-८ का २७ वर्षीय लक्ष्मण राई पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ गर्दा टाटा सुमो गाडी चलाई भाग्न खोजेपछि प्रहरीले २ राउन्ड फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी चक्रघट्टीले जनाएको छ ।

इलाका प्रहरी चक्रघट्टीका अनुसार उज्यालो नभएको बिहान १ बजेर ५ मिनेटको समयमा वराहक्षेत्र-९ राजाबास स्थित दाहसंस्कार गर्ने घाट नजिक कोशी नदीको किनारमा लुकाई राखेको स्थानबाट गाँजा लैजान लाग्दा पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा प्रदेश ०१-०२-००१ ज ४०५० नम्बरको टाटा सुमो गाडीमा लोड गरिएको सेतोमा रातो धर्का भएको प्लास्टिकको प्याक गरेको बोरा १३ थानमा कुल जम्मा ४०६ केजी ९४० ग्राम अवैध लागूऔषध गाँजा बरामद भएको छ ।

गाँजा सहित चालक धरान-४ बस्ने बमबहादुर राईको छोरा २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गापा ८ बस्ने नारायणबहादुर राईको छोरा २७ वर्षीय लक्ष्मण राईलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले गाँजा र दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उक्त टाटा सुमो गाडी चलाई भाग्न खोज्दा प्रहरीले २ राउन्ड फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ । प्रहरी अनुसार फायरबाट मानवीय क्षति भएको छैन । पक्राउ परेकाहरूबाट रियलमी स्मार्ट फोन १ थान र भिभो स्मार्ट फोन १ बरामद गरिएको छ ।

उनीहरूलाई आजै जिल्ला अदालत सुनसरी बाट म्याद थप भई विस्तृत अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।