वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले लोकसेवा आयोगका परीक्षार्थी तथा तयारीका लागि बसेका विद्यार्थीहरूलाई लक्षित गरी स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । नगरपालिकाले युवा जनशक्तिलाई आयोगको परीक्षा तयारीका लागि सहज होस् भन्ने उद्देश्यले कक्षा सञ्चालन सुरु गरेको हो ।

लोकसेवा आयोगले लिने परीक्षा तयारीका लागि टाढा जानुपर्ने र धेरै शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउँदै स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सुरु गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

युवाहरूमा सिकाइ उपलब्धि बढाउँदै, मेहनती, प्रतिस्पर्धी र इमानदार नागरिकका रूपमा स्थापित गराउने लक्ष्य समेत लिइएको उनको भनाई छ । युवायुवतीमा प्लस टु सकेपछि नै विदेश जाने प्रवृत्ति छ । त्यसलाई कम गर्न तथा सरकारी सेवामा आकर्षण बढाउने उद्देश्यले निःशुल्क तयारी कक्षा सुरु गरिएको हो । उनले भने ।

लोकसेवाको निःशुल्क तयारी कक्षाको शुक्रवार उद्घाटन गरिएको छ । नगर प्रमुख कार्कीको प्रमुख आतिथ्ययतामा आयोजना भएको उद्घाटन कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल, लेखा अधिकृत वीरेन्द्र यादव, आर्थिक विकास शाकाका प्रमुख मातृका तिहारी लगायतको उपस्थिति रहेको थियो ।

आफ्नै पालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन भएपछि विद्यार्थीहरू खुसी भएका छन् । लोक सेवा तयारीको कक्षा लिन धरान, इटहरी जानुपर्ने बाध्यताको अन्त्य भएको तयारी कक्षामा सहभागीले बताए ।

३० दिनसम्म सञ्चालन हुने लोकसेवा कक्षामा १ सय १० जनाको सहभागिता रहेको छ । प्रत्येक वडाबाट १०/१० जना सहभागिता रहेको तयारी कक्षा वडा नं ३ र वडा नं १० गरी दुई स्थानमा सञ्चालन हुने सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताले जानकारी दिए । सहभागीले आफूलाई अनुकूल पर्ने ठाउँमा सहभागिता जनाउन सक्नेछन् ।

loksewa barachetra news 3

loksewa barachetra news 2