इटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयनमा नेकपा एमालेले अन्य दलसँग तालमेल नगर्ने भएको छ । एमाले र नेपाली काँग्रेस बिचमा भागबन्डाको विषय बाहिर आएपछि एमालेले भागबन्डा नगर्ने बताएको हो ।

नगर अध्यक्ष यामकुमार सुब्बाले कुनै तालमेलको सहमति नभएको बताउँदै अवस्था हेरेर अगाडि बढ्न वडा कमिटीलाई निर्देशन दिइएको बताए । यसअघि कार्यवाहक अध्यक्ष रुपेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले फाल्गुन ६ गते वडा कमिटीलाई सर्कुलर जारी गरेको थियो ।

सोही सर्कुलरमा वडा स्तरमा हुने निर्वाचनको उम्मेदवार वडा कमिटीले तय गर्ने उल्लेख छ । टोल कमिटीको समेत सहभागिता रहने गरी उम्मेदवारी छनौट गर्नुपर्ने सर्कुलरमा बताइएको छ ।

जात, भूगोल तथा समुदाय मिलाएर सर्वसम्मत उम्मेदवार छनौट गर्नुपर्ने एमालेले निर्देशन दिएको छ । गठबन्धन गर्नुपर्ने भए प्रमुख प्रतिस्पर्धी बाहेक अन्य दलसँग वडाको अवस्था हेरेर तालमेल गर्नुपर्ने भएको छ ।

सोही निर्देशनलाई कार्यान्वयन गर्ने पछिल्लो अवस्था बारे बुझ्न सोमबार एमाले नगर पार्टी कार्यालयमा छलफल भएको हो । छलफलमा काँग्रेस लगायत दलसँग तालमेल नगर्ने सुझाव आएको अध्यक्ष सुब्बाको भनाइ छ ।

उता इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सर्वसम्मत खानेपानीको नेतृत्व चयन गर्न लबिङ गर्दै आएका छन् । सोही क्रममा काँग्रेस उपमहानगर सभापति समेत रहेका पौडेलले आइतबार मेयर कक्षमा सर्वदलीय छलफल गरेका हुन् । छलफलमा कुनैपनी भागबन्डा र तालमेलको सहमति नभएको एमाले अध्यक्ष सुब्बाले जानकारी दिएका छन् ।

इटहरी उपमहानगरपालिकाका पूर्वाधार विज्ञ अर्जुन दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिले सहमतिको लागि भन्दै निर्वाचन तालिका हेरफेर गरेको छ । दलहरूले आग्रह गरेपछि १९ गते हुने भनिएको मनोनयनको मिति २७ गते पुर्‍याएको हो ।

३ गते हुने भनिएको मतदानको समय सीमा यथावत् राखेर मनोनयन दर्ता र दाबी विरोधको समय घटाइएको निर्वाचन समितिका संयोजक दाहालले बताएका छन् ।

२२ हजार ९८ मतदाता मध्येबाट १६५ जना प्रतिनिधि निर्वाचित हुने भएका छन् । वडाबाट निर्वाचित १६५ प्रतिनिधि, हालको कार्यसमितिमा रहेका १५ जना र लेखा समितिका ३ गरी १८३ जनाले नयाँ कार्यसमिति चयनमा प्रक्रियामा सामेल हुन पाउने छन् ।