धरान : दुवै मिर्गौला खराब भई उपचारमा रहेका गायक नवराम राईको उपचारका लागि युवा व्यवसायी भुवन याक्खाले ३० हजार सहयोग गरेको छ ।

गायक, सङ्गीतकार र गीतकार राईको उपचारमा आर्थिक अभाव भएपछि युवा नेता, व्यवसायी तथा सर्ट मुभी ‘निको नहुने रोग’का निर्माता, अभिनेता याक्खाले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

याक्खाका अनुसार केही समय अघि सर्ट मूभिको च्यारिटी सो बाट उठेको रकमले आर्थिक सहयोग गरिएको हो ।

रकम हस्तान्तरको बेला कोशी प्रदेश सभा सदस्य विजय कुमार राई, वडा १८ का अध्यक्ष प्रवीण राई, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, मजदुर नेता भीम ज्वाला राई, पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनक ऋषि राई लगायतको उपस्थिति थियो ।

धरान-११ रटिङका गायक राई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् । हप्ताको दुई पटक डाइलाइसिस गर्दै आइरहेका राइको मिर्गौलामा पथरिया समेत देखा परेको छ ।

सहयोग ग्रहण गर्दै राईले पछिल्लो समय स्वास्थ्यमा केही सुधार आइरहेको बताएका छन् । सबैको माया र सहयोगले पुनर्जीवन पाएर सङ्गीत कर्ममा फर्किन सक्छु भन्ने विश्वास पलाएको उनले बताए ।