धरान : दुवै मिर्गौला खराब भई उपचार गराई रहेका चर्चित गायक नवराम राईलाई धरान-१८ रत्न चौकका हाल हङकङ निवासी महाप्रसाद राईले ९९ सय हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

उक्त सहयोग रकम महाप्रसादका कान्छा भाइ सुनसरी फुटबल सङ्घका अध्यक्ष नवीन राईले सोमवार गायक राईको घरमा पुगेर हस्तान्तरण गरेका छन् ।

महाप्रसाद राईले हङकङ स्थित उनी काम गर्ने कम्पनी गेमन प्लान्ट डिपार्टमेन्टका सहकर्मीहरूसँग सहयोग रकम सङ्कलन गरी नेपाल पठाएको नवीन राईले जानकारी दिए ।

लोकप्रिय गीत 'गुराँसको फेद मुनि, सम्झनाको छाया’का गायक नवराम राई हाला धरान-११ रिटिङमा बस्दै आएका छन् । राईको दुवै मिर्गौलामा समस्या देखिएको छ ।

उनी दुई हप्ता बिपी प्रतिष्ठानमा उपचार गराई घरमा आराम गरी रहेका छन् । डाक्टरका अनुसार उनले हप्तामा दुई पटक डायलासिस गर्न पर्ने भएको छ।

राईले थप उपचारको लागि आर्थिक समस्या रहेकोले आर्थिक सहयोगको याचना गरेका छन् । थप उपचारको लागि बाहिर लान परे पैसा नभएको उनले बताए । लामो समय सङ्गीत क्षेत्रमा लागेका उनले डेढ दर्जन गीत गाएका छन् भने केही गीतमा सङ्गीत दिएका छन् ।