धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चार माध्यममा मन्दिरको जग्गामा नक्कली जग्गा धनी खडा भन्ने समाचार आएपछि चासो दिँदै वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराई र मालपोत कार्यालयका हाकिमलाई बोलाई मङ्गलवार छलफल गरेका छन् ।

छलफलपछि मेयर साम्पाङले जग्गा मन्दिरकै रहेछ भन्दै छलफल टुङ्गाएका थिए । सधैँ मूलधारका मिडियाको विरोध गर्ने मेयर साम्पाङले समाचार प्रकाशित गर्ने मिडिया हाउसहरूलाई विषय उजागर गर्दै आँखा खोली दिएकोमा धन्यवाद समेत दिएका छन् । 

मन्दिरको जग्गा मन्दिरकै कायम गर्न माग : 

यसै बिच विजयपुर क्षेत्र धार्मिक क्षेत्र संरक्षण समन्वय समिति अध्यक्ष जुद्ध लोहनी, सनातन धर्म संरक्षण र जागरण समिति अध्यक्ष डा. चन्द्रमणी नेपाल र विजयपुर आध्यात्मिक मञ्च धरानका महासचिव उद्धव अधिकारीले मङ्गलवार प्रेस विज्ञप्ति मार्फत मन्दिरको जग्गा मन्दिरकै नाममा कायम गर्न माग गरेका छन् ।

विज्ञप्तिमा सनातन धर्म, सनातनका आस्थाका धरोहर, सम्पदा र सम्पत्तिमा बारम्बार आक्रमण र अतिक्रमण भइरहेको उल्लेख गर्दै ऐतिहासिक मन्दिर मास्ने क्रियाकलाप भइरहेको बेला मन्दीरको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने षडयन्त्रको घोर विरोध गरिएको छ।

भनिएको छ ‘मन्दिर, पाटी, पौवा, धर्मशाला र जग्गा जमिन कब्जा गरिने र व्यक्तिगत सम्पत्तिका रूपमा परिणत गर्ने कार्य नेपाल भरि भइरहेको छ । यी सबै गलत कार्यहरू विरुद्ध सशक्त ढङ्गमा उभिएर धर्मको रक्षा, सम्पदाको रक्षा, संस्कारको रक्षा, संस्कृतिको रक्षा र सम्पत्तिको रक्षा गर्नु हाम्रो दायित्व र कर्तव्य बनेको छ ।’

यस्ता कब्जा गर्ने कार्यहरूमा सनातन धर्म मान्ने लोभिपापीहरूकै हात हुने गरेको देख्दा दुःख र आश्चर्य दुवै लाग्ने कुरा वक्तव्यमा उल्लेख छ ।

धरान-१४ दुई धारे अगाडी रहेको प्राचीन नरसिंह मन्दिरको दैनिक पूजा आराधनाका लागी दाताहरूबाट दानका रूपमा हुने गरी गुठिका रूपमा राखिएको पानवारीको ७ कट्ठा ११ धुर जग्गामा नक्कली जग्गाधनी खडागरी व्यक्तिको नाममा दर्ता गर्ने षडयन्त्रको विषयले हामी सबै स्तब्ध भएका छौँ भनिएको छ ।

वक्तव्यमा यस्ता अनधिकृत कार्य र षडयन्त्र रोक्न मालपोत कार्यालय र धरान ६ वडा कार्यालयलाई सचेत गराउँदै तुरुन्त बन्द गरी मन्दिरको जग्गा मन्दिरका नाममा ल्याउने वातावरण निर्माण गर्न आग्रह गरिएको छ । आग्रहलाई बेवास्ता गरी मन्दिरको जग्गा व्यक्तिको नाममा सार्ने प्रपञ्च गरिए त्यसका विरुद्ध कठोर र निर्मम भएर प्रस्तुत हुने स्मरण कुरा वक्तव्यमा उल्लेख छ ।

sanatan-group-PR