धरानः धरान १४ दुई धारे दक्षिण स्थित नरसिंह मन्दिरको धरान-६ पानबारीमा रहेको ७ कट्ठा १० धुर जग्गामा नक्कली जग्गा धनी खडा गरिएका लालबहादुर मगरले आफूलाई जबरजस्ती जग्गा दलालहरूले नक्कली जग्गाधनी बनाएको बताएका छन् ।

धरान-४ हर्दियाका लालबहादुरलाई आज मङ्गलवार दिउँसो उनकै घरमा पुगेर सञ्चारकर्मीहरूले भेटेर कुराकानी गर्दा उनले भने ‘जग्गा नरसिंह मन्दिरकै हो, जग्गा दलालहरूले जबरजस्ती मलाई जग्गा धनीको रूपमा खडा गरे ।’

जग्गा दलालहरूको डिजाइनमा आफूलाई फकाएर मन्दिरको जग्गा आफ्नो नाममा ल्याउन सबै नक्कली काम गरेको उनले खुलासा गरेका हुन ।

नक्कली जग्गाधनीको रूपमा खडा गरिएका लालबहादुर भन्छन् ‘मेरो दाजु यम बहादुरले २०१२ साल देखि जग्गा जोतभोग गरी कमाएको हुन, दाजुले जोतभोग गर्न नसकेपछि मलाई जग्गा कमाउन दिएका हुन, दाजु यम बहादुरले जग्गा कमाउ अनि १ मुरी धान चैँ मन्दिर (गुठी)लाई दिनु भनेपछि मैले २०२० देखि २०३५ साल सम्म जग्गा कमाएको हुँ ।’

त्यसपछि फुपाजु लालबहादुर मगरलाई कमाउन दिएको उनले बताए । आफूले जग्गा कमाउँदा नरसिंह मन्दिरको पुजारी वीर दासलाई वार्षिक रूपमा १ मुरी धान बुझाउँदै आएको उनले खुलाए । उनले भने ‘ फुपाजुलाई पनि मन्दिर कै पुजारीलाई कुत बुझाउनु भनेर दिएको हुँ ।’

उनका अनुसार २०२७ सालमा नापीमा जग्गा आफ्नो नाममा आएको थियो । उनले आफ्नो नाममा जग्गा छ भनी इटहरीको दलालबाट थाहा पाएको खुलासा गरे । दलाल दैनिक इटहरी देखि हर्दिया गरेको बताउँदै उनले भने ‘मलाई ललाई फकाई गरेर धरान-४ हर्दियामै आएर तेरो नाममा जग्गा आउँछ  सर्जिमिन गर्नु पर्छ भनेर २ जना आउने गर्थे ।’

नाम चैँ थाहा नभएको बताउँदै उनले ती जग्गा दलाल राई थरीको मोटे मोटे मान्छे भएको हुलिया समेत खुलाए । उनले भने ‘दलालले नै सर्जिमन गर्नु पर्छ भन्दै वडा ४ मै सर्जिमन गराएको थियो ।’ त्यो सर्जिमन काम नलाग्ने भएपछि दलालहरूले नै फेरी घरमै आएर वडा ६ मा लगेर समेत सर्जिमन गराएको उनले बताए ।

लालबहादुरले भने ‘जोताहा फर्म पनि भरेका थिए २०४५ सालको भूकम्पमा गाह्रो घर भत्केपछि जोताहा फारम कता हरायो कता ?’ 

लाल बहादुरले ७ देखि ८ कट्ठा जग्गा रहेको आफूले कमाउँदा ८ कट्ठे ८ कट्ठा भनेको बताए । उनले भने ‘बाहुनले मन्दिरलाई दिएको भन्थे, जग्गा मन्दिर कै हो, मन्दिरलाई नै कमाएको कुत बुझाएको हो ।’

उनले स्पष्ट रूपमा भने ‘नापीको स्रेस्तामा झुक्किएर मेरो नाममा पर्न गएको हो ।’ जग्गा आफ्नै नाममा भए पनि आफूले खोजविन नगरेको बताउँदै लालबहादुर भने ‘मैले मतलब नै गरेको थिइन ।’ दलालहरूले नै खोज्दै आफू भएको ठाउँ हर्दिया सम्म आएको उनले बताए ।

दलाल आएर फकाउँदै तपाईँको नाममा जग्गा धनी पुर्जा आउँछ भन्छन्, सम्पूर्ण खर्चबर्च उनीहरूले नै गर्ने बताएको उनले सुनाए । उनले भने ‘आफ्नो नाममा जग्गा आए पनि मन्दिरलाई केही जग्गा दिन्छु, मुद्दा सुद्धा आए म जाँदिन अदालत जानै परे पनि मेरो कुरा यही हो, यही कुरा बोल्छु ।’

दलालहरूले जग्गा आफ्नो नाममा पारिदिए भनेपनि खासै चासो नभएको उनले बताए । भने ‘आफ्नो नाममा आए पनि ठिकै छ न आए पनि ठिकै छ ।’ उनले जग्गाको सर्जिमन गर्दा पानमाराका पदम बहादुर कार्कीले बोल्न सहयोग गरेको बताए । उनले जोड दिँदै भने ‘सर्वेमा नापी हुँदा जग्गा आफ्नो नाममा परेको हो, जग्गा मन्दिर कै हो, लिखतमा मन्दिरको नाममा लेख्न छुटेको मात्र हो ।’