धरान : धरान-१४ दुई धारे दक्षिण स्थित नरसिंह मन्दिरको धरान-६ पानबारीमा रहेको ७ कट्ठा १० धुर जग्गा व्यक्तिको नाममा दर्ता गराउन मालपोत कार्यालय धरानले सूचना प्रकाशित पछि उक्त जग्गा जोतभोग गरिरहेका किसान भक्तबहादुर मगरले मालपोतमा नक्कली जग्गाधनी खडा गरेको बताएका छन् ।

उनले भने ‘नरसिंह मन्दिरको जग्गा मैले २०४८ सालदेखि अहिले सम्म जोतभोग गरिरहेको छु ।’ उनले उक्त जग्गा जोतभोग गरी कुत समेत बुझाइरहेको बताएका छन् ।

भक्तबहादुरले भने ‘नरसिंह मन्दिरको जोगीलाई कुत तिर्दैछु, बाजे खालले जोगीलाई नै दिनु, हामीहरूले दान दिएको जग्गा हो, हामीले पाइला पनि टेक्नु हुँदैन, यहाँ कमाएको खानु पनि हुँदैन भनेकाले मन्दिरको पुजारीलाई दिने गरेको छु ।’

आफूले जोतभोग गर्दै आएको जग्गामा अर्को को नक्कली जोतभोग गर्ने मान्छे आयो ? भन्ने प्रश्न गर्दै उनले भने ‘टोम प्रसाद बाजेको दाजु शङ्कर आर्चाय बाजेले नै भरपाई दिएर जोगीले लिने गरेको हो, शङ्कर बाजे बितेर गए, अहिले टोम प्रसाद बाजे कहिले काहीँ आउँछन् उनले जोगीलाई नै दिनु भन्छन् ।’

हाल सम्म जग्गाको कुत मन्दिरका जोगीलाई नै दिदैं आएको बताउँदै उनले भने ‘पहिला जोगीले आफै आएर ५ मुरी धान लान्थे, धान लानु अचेल अप्ठ्यारो भयो होला धान लाँदैनन्, धान बराबरको पैसा ५ हजार दिन्छु ।’

यसवर्षको कुत बापतको पैसा पनि उनै जोगीले लिएर गएको बताउँदै २०४८ साल देखि निरन्तर वार्षिक खुरुखुरु नरसिंह मन्दिरका जोगीलाई कुत बुझाउँदै आएको भक्तबहादुर मगरको भनाई छ ।

भक्त बहादुरले भने ‘आफूले जग्गा कमाउनु भन्दा पहिला आफ्नै साइँली फुपू (मेरो आमाको साइँली फुपू) ले कमाएको थियो, त्यसपछि फुपूको जेठा ज्वाइँले कमाएको थियो उसले नि छाडेपछि माईला ज्वाइँ उसलेपनि छोडेपछि बाझगराको आले माईला भन्ने लालबहादुर, उसले नि छाडेपछि, उसको छोरा सुमन मगरले गर्‍यो, उसलेपनि छाडेपछि मैले निरन्तर जोतभोग गरिरहेको छु ।’

उनका अनुसार २००८ सालमा भूमिसुधार लागु भएको बेला मोही थियो भने किन जग्गा पाएन ? २०२७ सालमा नापीका भएको थियो । नापी हुँदा जग्गा दाबी गर्दै हिँड्ने लाल बहादुर हो भने उतिबेलै किन दाबी गरेन ? भक्तबहादुरले प्रश्न गरे ‘नापी सँगसँगै लालपुर्जा आइहाल्नु पर्ने हो होइन र ?’

उक्त जग्गामा बाटो खुलेपछि यता दुनियाँको आँखा परेको उनले बताए । भक्त बहादुर भन्छन् ‘उहिले उहिले देखि नै हामी यही थियौ, २०२२/२३ साल देखि नै हामी यही छौँ तेतिबेला देखि नै मन्दिरलाई नै जोगीलाई दिएको थाहा छ फुपूकै पाला देखि ।’

वास्तविक जोतभोग गर्दै आएका भक्तबहादुरले हाल नक्कली मोही बनाइ दाबी गरिएको लालबहादुरले मन्दिरको जग्गाधनी पुर्जा नै नभएको बताउँदै ‘पुर्जा नै छैन, यिनीहरूको, गुठी पनि छैन बालखर्क पनि छैन, कसरी मन्दिरको हुन्छ ?’ भनेको पनि बताएका छन् ।

आफूले जोतभोग गरेको देखेर ईर्ष्या गरेको बताउँदै उनले भने ‘मैले यत्ति गरिखाको पनि कस्तो आरिस भाको हेर्नु त ? साइँली बज्यैको पाला सत्यजुग देखि मन्दिरलाई कुत बुझाई रहनु परेको छ, बिच बिचमा आएर गुठीमा देखिँदैन भन्छन्, आफूले बर्सेनि मन्दिरलाई कुत बुझाई रहेको छु ।’