इटहरी : नेकपा एमाले सुनसरी जिल्ला अधिवेशनको क्रममा प्राध्यापक डाक्टर बद्री विशाल पोखरेलले आफू माथि हातपात भएको बताएका छन् ।

जिल्ला अध्यक्ष रेवती रमण भण्डारीले वादविवादको क्रममा हातपात गरेको उनको आरोप छ । अध्यक्ष भण्डारीले बन्द सत्रमा पेस गरेको प्रतिवेदमा आफ्नो नाम उल्लेख भएपछि डा. बद्री विशालले असन्तुष्टि जनाएका थिए ।

किन र केका लागि प्रतिवेदनमा नाम लेखियो भन्नेबारे विवाद बढ्दै गएपछि भण्डारीले धकेल्दा घडीको चेनले हातमा राखेर रगत बगेको उनले बताए । विवाद बढ्दै गएपछि उपस्थित अधिवेशन प्रतिनिधिले भण्डारीलाई लिएर अन्यत्रै गएको उनको भनाइ छ ।

भण्डारीले बन्द सत्रमा प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाटी उम्मेदवार विरुद्ध गतिविधि गर्नेहरूलाई कारबाही गर्ने कुरा उल्लेख गरिएको छ । ‘पाटी अनुशासन उल्लङ्घन गरी कारबाहीको प्रक्रियामा रहेको’ शीर्षकमा डा. बद्री विशालको नाम पनि उल्लेख छ ।

त्यही विषयमा बन्द सत्र बाहिर विवाद उब्जेको थियो । यसअघि देखिनै डा बद्री विशालले अध्यक्ष भण्डारी र केन्द्रीय सदस्य लक्ष्मी गौतम विरुद्ध लेख लेख्ने र अभिव्यक्ति दिने गरेका छन् । नेकपा एमाले भित्र भण्डारी र गौतमका विरुद्ध आवाज उठाइरहेका उनले एमालेको प्रदेश अधिवेशनमा पनि उनीहरू विरुद्ध पर्चा बाँडेर प्लेकार्ड भिरेका थिए ।

इटहरी मेयरमा एमालेका उम्मेदवार यामकुमार सुब्बालाई भण्डारी र गौतमको समूहले हराएको उनको आरोप छ । आफूलाई विद्वान् इमान्दार बताउँदै आएका उनी नेकपा एमाले भित्र बारम्बार विवादमा आइरहन्छन् ।