इटहरी : नेकपा एमाले सुनसरी अध्यक्ष रेवती रमण भण्डारी र केन्द्रीय सदस्य लक्ष्मी गौतम विरुद्ध प्राध्यापक डाक्टर बद्रिविशाल पोखरेलले सडकमै विरोध जनाएका छन् । एमाले प्रदेश अधिवेशनको उद्घाटन सत्रमा दुई जना विरुद्ध ब्यानर बोकेर पोखरेलले विरोध जनाएका हुन् ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकामा एमालेका उम्मेदवारलाई हराउन गौतम र भण्डारी लागेको आरोप छ । पोखरेलले बाढेको हाते पर्चामा पनि निर्वाचनको समीक्षात्मक प्रतिवेदनमा एमाले उम्मेदवार हराउन दुई जनाले खेलेको भूमिका किटान गरिएको उल्लेख छ ।

बद्री विशालकी श्रीमती मिथिला पोखरेलले छपाएको पर्चामा भनिएको छ, ‘विकृति विरुद्ध असहमत हुने म जस्ता पार्टी प्रतिबद्ध नेता र कार्यकर्तालाई उठ्नै नदिने गरी पटक पटक चरम अपमान गरिएको छ । त्यसैले यो आवाज विहीन कार्यकर्ताको आवाज हो । यस्ता चरम विकृतिको फेहरिस्त सुनसरीमा निक्कै लामो छ । तसर्थ विकृतिलाई पहिचान गर्न र तिनलाई समयमै कडा रूपमा निरुत्साहित गर्न माथिल्लो कमिटी समक्ष अनुरोध गर्दछु ।’

पर्चा बाढेको विषयमा प्रतिक्रिया दिँदै बद्री विशाल पोखरेलले एमालेमा बाहिर हेर्दा बलियो जस्तो देखिए पनि भित्रभित्रै ऐजेरु पलाएको र घुन पुत्ली लागी सकेको बताए । उनले भने, ‘एमालेमा समस्या आइपर्‍यो । घर भित्रको समस्यालाई भित्रै उपचार गर्नुपर्छ । घर फोहोर भयो भने कुचो लगाएर सफा गर्नुपर्छ । मैले त्यही कुचो लगाउने काम गरेको हो । त्यसो नगर्ने हो भने पार्टी कमजोर हुन्छ । मूलधारका पार्टीहरू कमजोर हुँदा देश कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुन्छ । देश कमजोर भए प्रतिगामीका विरुद्ध लाग्ने शक्ति हुँदैन भनेर बेलैमा जानकारी गराएको हो । बोल्न नसक्ने धेरै कार्यकर्ताले मलाई धन्यवाद दिएका छन् ।’

बद्री विशालको गतिविधि प्रति गौतमले कायरताको उपज भएको बताएकी छिन् । पार्टीको कार्यक्रममा पुगेर पर्चा बढ्ने काम भएको र यसले आफ्नो प्रचार नै भएको उनले बताइन् । ‘वहाँलाई प्रचार गरेकोमा धन्यवाद । किन र के मनसायले यस्तो काम गर्दै हुनुहुन्छ मैले बुझेकी छैन,’ उनले भनिन् ।

प्रदेश महाधिवेशन प्रतिनिधिमामा श्रीमती मिथिला पोखरेलको नाम समावेश नभएको भन्दै बद्री विशाल असन्तुष्ट छन् । गौतम र भण्डारीको कारण प्रतिनिधिमा नाम नपरेको उनको बुझाइ छ । इटहरीमा बुद्धिजीवीको रूपमा हेरिएका पोखरेल पछिल्लो समय नेकपा एमालेका गतिविधि र कार्यक्रममा व्यस्त छन् । मुख्यतः भण्डारी र गौतम विरुद्धको अभियानमा खुलेर लागेका छन् उनी ।