इटहरी : सुनसरीको आठौँ जिल्ला अधिवेशन सुरु भएको छ । शनिवार इटहरीको लायन्स भवनमा वरिष्ठ उपाध्यक्ष शङ्कर पोखरेलले उद्घाटन गरेसँगै बन्द सत्र र निर्वाचनतर्फ अधिवेशनको कार्यक्रम अगाडी बढेको हो । 
बन्द सत्रको पूर्वसन्ध्यामा मनोनीत प्रतिनिधिको विषयमा विवाद भएको छ । अध्यक्षका उम्मेदवार खेमराज पोखरेलको समूहले मनोमानी र विधान विपरीत प्रतिनिधि मनोनीत गरेको आरोप लगाएको छ । नेकपा एमालेको विधान २०४९ को धारा ३४ को उपधारा २(घ) मा निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत नबढ्ने गरी जिल्ला कमिटीबाट मनोनीत गर्न पाउने व्यवस्था छ । 
हालका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले विधान विपरीत प्रतिनिधि पठाएको पोखरेल समूहको आरोप छ । प्रतिनिधि मनोनयन गर्दा जिल्ला कमिटीले निर्णय गर्नुपर्ने विधानको व्यवस्था छ । शुक्रवार बसेको जिल्ला कमिटीको बैठकमा प्रतिनिधि छनौटको विषय उल्लेख नभएको एक पदाधिकारीले बताए । 
वर्तमान जिल्ला कमिटी आयोजक कमिटी भएकाले १६५ जना स्वतः प्रतिनिधि हुने व्यवस्था छ । वडा र पालिकाबाट निर्वाचित भएका सहित जम्मा ६७५ को ५  प्रतिशत अर्थात् ३४ जना मनोनीत गरेर ७०९ ले मतदान गर्न पाउँछन् । तर सम्पर्क मञ्चका पदाधिकारी सहित ८० जना भन्दा बढी मनोनीत गरिएको असन्तुष्ट समूहले जनाएको छ । 
एक नेताका अनुसार वर्तमान अध्यक्ष भण्डारीले एकलौटी रूपमा सम्पर्क मञ्चका अध्यक्ष तथा पदाधिकारीलाई समेत प्रतिनिधि बनाएका छन् । जुन यसअघि सिन्धुपाल्चोक जिल्लामा कार्यान्वयन भएन ।
सिन्धुपाल्चोकको जिल्ला अधिवेशनमा काठमाण्डौमा क्रियाशील भएर सम्पर्क मञ्चमा भएको व्यक्ती प्रतिनिधि हुन पाउने व्यवस्था नभएको भन्दै बाग्मती प्रदेश कार्यालयले बदर गरिदिएको थियो । 
प्रतिनिधि विवादको विषय अध्यक्ष मण्डलका अध्यक्ष शेरधन राई समक्ष पुगेको छ । राईले विधान अनुसार व्यवस्था हुने भन्दै बचन दिएका छन् । राईले पनि अध्यक्षका अर्का उम्मेदवार निलम खनाललाई समर्थन गर्ने सम्भावना रहेको एमाले नेताहरू बताउँछन् । मनोनीत प्रतिनिधिको विषय टुङ्गो नलागे अधिवेशनमा भाँडभैलो हुने एमालेका असन्तुष्ट समूहका नेताहरूले चेतावनी दिएका छन् ।
Sindhupalchok-Lettter