इटहरी : इटहरी उपमहानगरपालिकाको बजेट नीति तथा कार्यक्रमको विवाद बढ्दै गएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रममा सुरुवात देखिनै असहमति जनाउँदै आएको नेकपा एमालेले त्यसलाई सार्वजनिक मुद्दाको रूपमा अगाडि बढाएको हो ।

असार १० गते राती ९ बजे वडा अध्यक्ष दिवस पोखरेलले अर्थ विधेयक र विनियोजन विधेयक पेस गरेका थिए । उपमेयरले पेस गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै नेकपा एमालेले बहिस्कार गरेको कारण मेयर हेमकर्ण पौडेलले पोखरेललाई बजेट पेस गर्न आग्रह गरेका हुन् ।

बजेट निर्माणको प्रक्रियामा प्रश्न उठाउँदै उपमेयर चौधरीले असन्तुष्टि जनाएकी छिन् । विज्ञप्ति मार्फत उनले भनिन्, "राजश्व परामर्श समितिले राजश्व प्रक्षेपण गर्ने र सो को आधारबाट श्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बसेर श्रोतको अनुमान गर्दै वडा स्तरीय सिलिङ, विषयगत समितिको सिलिङ, चालु आर्थिक वर्षको र विगत देखिएका योजनाहरूको दायित्व भुक्तानी, चालु खर्चको सिलिङ म्याचिङ्ग फण्ड लगायतका अन्य थुप्रै विषयहरूमा सीमा निर्धारण गरिसके पश्चात् बजेट तथा योजना तर्जुमा समितिले सम्पूर्ण योजना तथा कार्यक्रमहरू निर्धारण गरी कार्यपालिकामा छलफलका लागि पेस गर्नुपर्ने कानुनी प्रक्रिया छ ।

बजेटको कुनै पनि अङ्ग पुरा नगरी लहड, आवेग र उत्तेजनामा नगर सभाका २० जना सदस्यहरूको भौतिक उपस्थितिमा नगरले धान्नै नसक्ने अवस्थाको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत भएको खबरले दुखी एवम् स्तब्ध भएकी छु ।"

चालु आर्थिक वर्षको र विगतका वर्षीय योजनाहरूको भुक्तानी मात्रै एक अर्ब ५१ करोड भन्दा बढी दायित्व सरेर जाने उनले बताइन् । आन्तरिक आय र रजिष्ट्रेशन शुल्कमा मात्रै ९० करोड घाटा देखिएको भन्दै उपमेयर चौधरीले यथार्थ आय भन्दा खर्च धेरै गुणा बढी भएर उपभोक्ता मार्फत सञ्चालन भएका योजनाहरूको भुक्तानी हुन नसकेको प्रति चिन्ता व्यक्त गरिन् ।

यथार्थमा आधारित बजेट ल्याउन नगर सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख तथा सभा अध्यक्ष समक्ष पटक पटक अनुरोध गर्दा बेवास्ता गरेको उनको आरोप छ ।

आफूले श्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठकको छलफल गराउन अनुरोध गर्दा अटेर गरेको र बजेट तर्जुमाको न्यूनतम मापदण्ड, सिद्धान्त र कानुन विपरीत बजेट ल्याइएको बताइन् । कार्यपालिका बैठकमा छलफल गराई बजेट पुनर्लेखन गर्नुपर्ने उनको माग छ ।

अन्यथा बजेट पास गर्न नदिने बताउँदै चौधरीले बजेट पास नहुँदा उत्पन्न हुने परिस्थितिको सामना गर्न प्रमुख प्रशासकीय अधिकृत र मेयर पौडेललाई चेतावनी दिएकी छन् ।

Itahari-upamayor-PR-KapuriN