धरान : ब्राह्मण समाज धरान उपमहानगर समितिले आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ‘सार्वजनिक सुनुवाइमा गरिएको प्रश्नका कारण एक चेली सञ्जिता धमला हाल प्रताडित भएर बसेकी’मा चिन्ता प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘सार्वजनिक सुनवाइ भनेकै प्रश्न गर्नका लागि, आलोचना गर्नका लागि र कमी कमजोरी देखाइदिनको लागि आयोजना गरिने कार्य हो । यस्तो कार्यक्रममा गरिएको आलोचना, विरोध र कमी कमजोरी देखाएको विषयमा त्यस्ता कुराहरू जिम्मेवार भएर सुधार्नु सच्याउनुको साटो प्रतिशोध साँध्ने दृष्टिकोणबाट कार्यालयमा बोलाएर दुर्व्यवहार गरिनु दुःखद हो, खेदजनक घटना हो ।’

विज्ञप्तिमा ‘यस्ता घटनाको सामाजिक रूपमा समाधान गर्नुको साटो अझ भड्काउने अभिव्यक्ति दिँदै उनीमाथि अस्पतालमा उपचारका क्रममा रहँदा साङ्घातिक आक्रमण हुनु घोर निन्दनीय विषय हो । यस्ता घटनाको हामी घोर भर्त्सना गर्दछौँ’ भनिएको छ ।

यस्ता कार्यले समाजलाई जोड्ने भन्दा पनि टुक्राउने कार्य हुन सक्ने हाम्रो बुझाई हो । यो मात्र होइन यस अघि पनि बोलेकै आधारमा अन्य धेरै व्यक्तिहरू माथि यस्तै प्रकारका घटनाहरू भएको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ‘लोकतन्त्रको सुन्दर पक्ष ठानिने आलोचनालाई विरोध जस्तो ठानिन थालिएको छ र आलोचनाका विषयहरूलाई लिएर प्रतिशोध साँध्ने प्रयत्नहरू भएका हुन कि भन्ने आभास भइरहेको’ उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उक्त स्थितिले ‘सामाजिक सद्भावको साटो द्वन्द्व र विग्रहका बाछिटाहरूले प्रश्रय पाउन थालेको हो कि भन्ने देखिन थालेको’ आशङ्का प्रकट गर्दै ‘धरान एक प्रकारले नजानिँदो किसिमले द्वन्द्वको भुङ्ग्रोमा पस्दै गएको हो कि भन्ने आम नागरिकमा चासो र चिन्ता पस्दै गएको’ उल्लेख गरिएको छ ।

विज्ञप्तीको पूर्णपाठ यस्तो छ :

braman-samaj-PR